ऊर्जा विकासमा नीति सुधार र लगानी विस्तार गरिने : ऊर्जामन्त्री श्रेष्ठ
जलसरोकार
काठमाडौं, : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रबाट कुनै पनि नागरिक वञ्चित हुन नहुने बताएका छन् ।
मन्त्रालयमा आज पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री श्रेष्ठले २१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै समयसापेक्ष नीति निर्माण गरी ऊर्जा विकासलाई तीव्रता दिइने बताएका हुन् । “२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग झन् बढ्दै गएको छ, त्यसैले समयअनुकूल नीति बनाउँदै स्वच्छ ऊर्जाको विकासमा लाग्नेछौं,” उनले भने । ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले अन्तर–मन्त्रालय सहकार्यमार्फत ऊर्जा र सिँचाइ क्षेत्रको समग्र विकासमा ध्यान केन्द्रित गरिने बताए ।
उनले पानीको अभावका कारण खेतीयोग्य जमिन बाँझो हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै सहरी तथा ग्रामीण क्षेत्रमा पानीको ‘रिचार्ज सिस्टम’ निर्माणका लागि विशेष टोली गठन गरिने जानकारी दिए । साथै वैकल्पिक ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र लाई थप सुदृढ बनाइने पनि उनकाे भनाइ थियो।
मन्त्री श्रेष्ठले २१औँ शताब्दी अनुसन्धान र नवप्रवर्तनको युग भएकाले ऊर्जा र सिँचाइ क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरे । मन्त्रालयमा सुशासन कायम गर्न सुशासन ऐनअनुसार समिति गठन गरिने तथा वित्तीय सुशासनलाई प्रभावकारी रूपमा अघि बढाइने उनले बताए ।
मन्त्रालयमा प्राप्त उजुरी तथा देखिएका चुनौतीहरूको अध्ययन गरी समाधान खोजिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयका कामकारबाहीका बारेमा प्रत्येक हप्ता सञ्चारमाध्यममार्फत जानकारी सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध