जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

८ सय मेगावाटको टेण्डरमा ३६ सय मेगावाटको प्रस्ताव

हाइड्रोलाई सरकारले नै झन्झटिलाे र बाेझिलो बनाएपछि सौर्य ऊर्जामा लगानीकर्ता आकर्षित

जलसरोकार
आइतबार, भदौ ०२, २०८१ | १२:३०:४९ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ८ सय मेगावाटको सौर्य ऊर्जाका लागि आव्हान गरेको प्रस्तावमा झन्डै ३६ सय मेगावाटको प्रस्ताव परेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रतिस्पर्धामा १३४ वटा बिड परेका थिए । ‘सौर्य ऊर्जामा उत्साहजनक उपस्थिति देखियो,’ कार्यकारी निर्देशक घिसिङले आइतबार जलसरोकारसँग भने ।
प्राधिकरणले तीन पटक म्याद थप गरेर देशका विभिन्न सवस्टेशन तथा वितरण केन्द्र लक्ष्यित प्रतिस्पर्धा गराएको थियो । यसको ‘विड ओपन’ गत बुधबार खोलेर विडर संख्या र परेको मेगावाट छुट्याइएको हो । प्राविधिक प्रस्ताव खोल्दा २ सय ७३ वटा आयोजना प्रस्ताव गरिएका छन् ।
प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार पहिले प्राविधिक मूल्यांकन गरिसकेपछि मात्र विद्युत् खरिद सम्झौता (पीपीए) दरको मूल्यांकन हुनेछ । 
‘प्राविधिक र आर्थिक प्रस्तावको मूल्यांकन तथा अध्ययन सकेर अन्तिम चरणमा पु¥याउन करिब पाँच महिना लाग्ने देखिन्छ,’ ढकालले जलसरोकारसँग भने, ‘हामी अझ छिटो गर्ने प्रयास गर्नेछौं ।’
उनका अनुसार प्रतिस्पर्धाको आधार दर प्रतियु्निट ५ रुपैयाँ ९४ पैसा तोकिएको छ । ‘मेरो अनुमानमा प्रतियुनिट ५ रुपैयाँ ६० पैसासम्ममा आउलान् कि,’ ढकालले भने ।
ढकालका अनुसार प्राधिकरणले ६५ वटा सवस्टेशन र ९० वटा वितरण केन्द्रलाई लक्ष्यित गरेर प्रतिस्पर्धा गरिएको हो । ८ सय मेगावाट बिजुली वितरण गर्न प्राधिकरणले प्रसारण लाइन बनाउनु पर्दैन । प्रवद्र्धकहरुले ३३ केभीका लाइनसम्म प्रसारण लाइन बनाउने गरी प्रस्ताव आव्हान गरिएको थियो । यसबाट प्राविधिक चुहावट हुनेछैन ।
नेपाली बैंकमा पैसा थुप्रिनु, जलविद्युत् आयोजना निर्माण गर्न झन्झटिला प्रक्रिया पूरा गर्नुपर्ने र सौर्य ऊर्जा बढीमा दुई वर्षमा पूरा हुने भएकाले प्रवद्र्धकहरु यसतर्फ हौसिएका हु्न् ।
प्राधिकरणले ८ सय मेगावाटको सौर्य ऊर्जा प्रतिस्पर्धामार्फत जडान गर्ने निर्णय गत वर्ष गरेको थियो । दिनभरि सौर्य ऊर्जा प्लान्टको बिजुली खपत गर्दा प्राधिकरणको प्रणाली पनि सन्तुलित हुनेछ । 
दिनभरि मस्र्याङ्दी, कालीगण्डकी ए जस्ता अर्धजलाशययुक्त आयोजनाका पानी संकलन गरेर बेलुका वा पिक आवर (उच्चतम माग भएका बखत) मा जलविद्युत् चलाउन सजिलो हुन्छ । यसबाट हिउँदयाममा भारतबाट आयात गर्नुपर्ने अवस्था निकै कम हुनेछ । 
 

 

प्रकाशित मिति : आइतबार, भदौ ०२, २०८१ | १२:३०:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया