नेपालमा वार्षिक कुल २२५ होइन, ३३६.७५९ अर्ब घनमिटर पानी उपलब्ध


नेपाल वास्तवमा एउटा पानी-पीडित देश हो । यहाँ वर्षात्का महिनामा जताततै पानी नै पानी हुन्छ भने अन्य मौसममा बिकट पहाडी क्षेत्रहरूका केही ठाउँहरूमा एक गाग्री पानी ल्याउन पुरै बिहान खर्चनु पर्छ । अनि काठमाडौं जस्तो सहरमा पानीको व्यवस्थापन गर्न उपलब्ध भूमिगत जलभण्डार नै रित्तिएला जस्तो गरी पानी निकाल्दा पनि पानीको यथोचित व्यवस्था हुन सकेको छैन । नेपालको तराई क्षेत्रमा भूमिगत जलको अत्यधिक दोहनले पानीको सतह पातालसम्म पुगेको खबरहरू आइरहेका छन् भने पश्चिम नेपालका तराईमा इनारको मुनी पानीको हाते पम्प जडान गरी घरायसी पानीको आपूर्ति गरिँदै आएको पाइन्छ । मेरो विचारमा यो पानीको व्यवस्थापनको समस्या हो । किनभने, नेपालमा वर्षाको समयमा प्रशस्त पानी हुन्छ तर हिउँदका समयमा हुँदैन । र यस असमानताको खाडललाई आवश्यकता अनुसार व्यवस्थापन गर्ने तर्फ नेपालमा ध्यान दिइएको पाइँदैन । तर, यो प्रशस्त र अभावका बीचमा नेपालमा कुन मौसममा कति पानी उपलब्ध छ भन्ने यकिनका साथ भन्न सक्ने अवस्था छैन । र सो ज्ञान बिना कुन समयमा कति पानी के कामका लागि व्यवस्थापन गर्ने भन्ने यकिन गर्न सकिँदैन ।
नेपालमा उपलब्ध पानीको परिमाणबारे विभिन्न सन्दर्भ स्रोतहरूमा विभिन्न संख्या दिइएको पाइन्छ । यसका प्रमुख कारणहरूमा स्रोतहरूको विभिन्नता तथा सो स्रोतहरूमा उल्लेख गरिएका परिमाणहरूमा एकरूपताको अभाव पर्छन् भने नेपाल सरकारको यस विषयमा ठोस नीति नहुनु वा नीतिहरू भए पनि सबै सरकारी निकायद्वारा अर्को सरकारी निकायले निकालेका परिमाणहरू नै वास्तविक हुन् भन्ने कुरामा सहमति नहुनु नै यसको प्रमुख कारण देखिन्छ । मेरो विचारमा पानीसम्बन्धी नेपाल सरकारको प्रमुख स्रोत जल तथा मौसम विज्ञान विभाग (डिएचएम) नै हो । जल तथा शक्ति आयोग सचिवालय, ऊर्जा तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि मन्त्रालय वा अन्य सरकारी निकायहरू स्वतन्त्र र उच्च तहका भए पनि पानीसम्बन्धी विज्ञान तथा तथ्याङ्कका लागि डिएचएम नै नेपालको एकमात्र सरकारी आधिकारिक स्रोत हो भन्ने मलाई लाग्छ । त्यसैले, सबै पानीसम्बन्धी तथ्याङ्क डिएचएमकै स्रोतबाट उपलब्ध गराई वा सोही स्रोत प्रयोग गरी गरिएका विश्लेषणका आधारमा निकालिएका तथ्याङ्कका आधारमा नै आवश्यक थप विश्लेषण गरी निकालिएका निष्कर्ष मात्र आधिकारिक हुन् भन्ने मेरो बुझाइ छ ।
त्यसैले, इसिमोडले डिएचएमबाट आधिकारिक रुपमा उपलब्ध गरी निकालेका निष्कर्ष प्रयोग गरी यो सन्तुलन विवरण तयार गरिएको छ । यो सन्तुलन विवरण नेपालका प्रमुख ८ वटा नदीहरू (कोशी, गण्डकी, कर्णाली, कनकाई, कमला, बागमती, पश्चिम राप्ती र बबई) को वहावका आधारमा गरिएको छ । यस सन्तुलनमा महाकाली नदीलाई समावेश गरिएको छैन ।
प्रस्तुत गरिएका तथ्याङ्कहरूले वर्षातको याम अर्थात् जुन महिनादेखि सेप्टेम्बर महिनासम्मका १२२ दिनमा वार्षिक सालाखाला वा औसतमा ११२ अर्ब ९८ करोड ८३ लाख ८० हजार घनमिटर पानी माथि उल्लेखित नदीहरू नेपालको पहाड काटेर नेपालको तराईबाट भारत प्रवेश गर्ने स्थानको निकटतम बिन्दुमा नापिएका तथ्याङ्कका आधारमा विश्लेषण गरी निकालिएका हुन् । भने सोही स्थानमा नापिएका तथ्याङ्कहरूले वर्षातका चार महिना बाहेकका ८ महिनामा माथि उल्लेखित पानी नाप्ने स्थानबाट वार्षिक औसत ४१ अर्ब ६ करोड ८५ लाख ९० हजार घनमिटर पानी बगेको देखिन्छ । यसरी, नेपालको दक्षिणतम स्थानमा रहेका पानी नाप्ने यन्त्रले सो स्थानबाट वार्षिक १५४ अर्ब ५ करोड ६९ लाख ७० हजार घनमिटर पानी बगेको तथ्याङ्क निकाल्न सकिन्छ ।
यसको मतलब, नेपालका पहाडी क्षेत्रबाट वर्षातको ४ महिनामा कुल वार्षिक वहावको ७३.३४ प्रतिशत र हिउँदका ८ महिनामा २६.६६ प्रतिशत पानी बगेको पुष्टि हुन्छ । तराईका नदीनालाबाट बग्ने पानीको परिमाण माथि उल्लेखित पानी मापन गर्ने स्थानमा मापन हुँदैनन् । त्यसैले, तराईको पानीको परिमाणको अनुमान अलग्गै गरिएको छ ।
नेपालमा मापन गरिएको पानीको परिमाणमा चीनबाट नेपाल प्रवेश गर्ने वार्षिक सालाखाला १०.८२ अर्ब घनमिटर र पुरानो बरफ पग्लेर आउने वार्षिक सालाखाला २.१२ अर्ब घनमिटर गरी जम्मा १२.९४ अर्ब घनमिटर पानी समेत माथि उल्लेखित पानी नाप्ने ठाउँहरूमा नापिएको देखिन्छ । चीनबाट नेपाल प्रवेश गरेको पानीको परिमाण हेर्दा वर्षातको याममा ७.९४ अर्ब घनमिटर र हिउँदको याममा २.८८ अर्ब घनमिटर पानी नेपाल प्रवेश भएको र सोही परिमाणको पानी पानी नाप्ने स्थानहरूमा नापिएकाले माथि उल्लेखित तथ्याङ्कमा सोही बमोजिम समावेश भएको देखिन्छ ।
त्यसैगरी, नेपाल हिमालयमा तथा चिनियाँ क्षेत्रमा बरफ पग्लेर वर्षातको समयमा १.५५४ अर्ब घनमिटर र हिउँदको समयमा ०.५६६ अर्ब घनमिटर पानी समेत माथि उल्लेखित तथ्याङ्कमा समावेश भएको अनुमान गरिएको छ ।
यसरी नेपालभित्र नै उत्सर्जन भई माथि उल्लेखित स्थानहरूमा मापन गरिएका पानीका परिमाणहरू वार्षिक क्रमशः वर्षाको याममा १०३.४९४ अर्ब घनमिटर र हिउँदका याममा ३७.६२३ अर्ब घनमिटर गरी जम्मा वार्षिक १४१.११८ अर्ब घनमिटर भएको हिसाब निस्कन्छ । तर, नेपाल हिमालयमा पुरानो हिउँ पग्लेर आउने केही पानी बाहेक नेपालमा पानीको सबै स्रोत भनेको आकाशबाट पर्ने पानी नै हो । हाम्रूसँग माथि उल्लेखित स्रोत र आकाशबाट पर्ने पानी बाहेक अर्को स्रोत छैन ।
अर्को कुरा के भने, माथि उल्लेखित पानीको परिमाण माथि उल्लेख गरिएका ८ वटा नदीहरूको कूल प्रवाहमा आधारित छ । तर ती नदीहरूको कूल जलाधार क्षेत्र १११.९९५ वर्ग किलोमिटर मात्र छ, जबकि महाकाली नदी वा माथि उल्लेखित ८ वटा नदी बाहेकका अन्य खोला तथा नदीहरूको नेपालमा रहेको जलाधार क्षेत्रसहित नेपालका पहाडी क्षेत्रको कूल जलग्रहण क्षेत्र १२६,३८० वर्ग किलोमिटर छ । त्यसैले, माथि उल्लेखित पानीको परिमाणलाई सोही अनुपातमा हिसाब गर्दा क्रमशः वर्षातको पानीको परिमाण ११६.७८७ अर्ब घनमिटर, हिउँदको पानीको परिमाण ४२.४६० अर्ब घनमिटर गरी जम्मा १५९.२४७ अर्ब घनमिटर हुन आउँछ ।
तर पानी परेपछि पहिले त केही पानी इभापोट्रान्सपिरेशन (ET) वा वाष्पीकरणमा खर्च हुन्छ, केही पानी भूमिगत जलभण्डारणमा जान्छ, अनि केही पानी माटोको आर्द्रता बढाउनमा खर्च हुन्छ । त्यस्तै, केही पानी कृषि तथा अन्य कार्यमा नेपालभित्र नै खर्च हुन्छ । माथि उल्लेखित मापन गरिएको भनिएको पानी, वास्तवमा माथि उल्लेख गरिएका सबै खर्च र नुकसानी घटाएर बाँकी रहेको परिमाण हो । त्यसैले, पानी परेपछि भएका सबै खर्चहरूको परिमाणलाई सकेसम्म सही मूल्याङ्कन गरी मापन गरिएको परिमाणमा जोडेर हिसाब गर्न आवश्यक हुन्छ । त्यसैले, माथि उल्लेखित खर्च र खपतका परिमाणका आधारमा नेपालमा उत्सर्जन भएको पानीको परिमाण गणना गरिएको छ ।
यस्तो हिसाब वर्षात र हिउँद यामको छुट्टाछुट्टै तथा पहाड र तराईको छुट्टाछुट्टै बनाएर त्यसैका आधारमा पूरै वर्षको र पूरै नेपालको बनाउन कम जटिल हुने भएकाले सोही बमोजिम अलगअलग बनाइएको छ । यसको प्रमुख कारण के हो भने वर्षातको समयमा भूमिगत जलभण्डारहरू भर्नमा केही पानी खर्च हुन्छ भने हिउँदका महिनामा सो पानीको अत्यधिक अंश पानीका मूलको रूपमा जमिनबाहिर निस्कन्छन्, साथै केही भूमिगत पानी नदीहरूको वहावमा खर्च हुन्छ ।
पानीका मूलबाट निस्कने पानी भौतिक रूपमा नाप्न सकिन्छ भने नदीहरूको वहाव कायम राख्न प्रयोग भइरहेको पानीको परिमाण अनुमान मात्र गर्न सकिन्छ । यसको दोस्रो कारण के हो भने माटोको आर्द्रता बढाउने कार्यमा खर्च हुने पानीको परिमाण वर्षातको महिनामा माथि उल्लेख गरिएको प्रक्रियाबाट अनुमान गर्न सकिन्छ भने हिउँदका महिनामा आकाशबाट पर्ने पानीको केही अंश मात्र नदीसम्म पुग्ने तथा अधिकांश पानी प्रत्येक पटक माटोको आर्द्रता बढाउने कार्यमा खर्च हुने गर्दछ ।
यसका साथै, पानी मापन गर्ने स्थानमा हिउँदका महिनामा मापन गरिएको परिमाणमा पानीका मूलहरूबाट उत्सर्जन हुने तथा नदीको वहाव कायम राख्ने दुवै प्रकारका पानीहरू पनि समावेश हुन्छन् । जबकि हिउँदमा उत्सर्जन हुने पानीको मूल स्रोत पनि अघिल्लो वर्षातको पानी नै हो ।
वर्षातको मौसमको नेपालका पहाडको पानीको सन्तुलन
मैले गरेको एउटा अध्ययनले नेपालको पहाडी इलाकामा वर्षातका ४ महिनामा आकाशबाट परेको पानीमध्ये ३३.३०३ अर्ब घनमिटर पानी वर्षातकै समयमा भूमिगत जलभण्डारणमा खर्च हुन्छ । तर, हिउँदका महिनामा सो भूमिगत पानीमध्ये ३०.२७६ अर्ब घनमिटर पानीका मुलहरू मार्फत बाहिर निस्कन्छ, जसको निकै ठूलो परिमाण नेपालका नदीहरूको वहाव कायम राख्नमा खर्च हुन्छ । यस प्रक्रियामा भण्डारण हुने पानीको करिब १० प्रतिशत वा करिब ३.०२७ अर्ब घनमिटर पानी विभिन्न तवरले निस्कने गरी नोक्सानी हुने अनुमान गरिएको छ ।
आकाशबाट पानी परेपछि केही पानी जमिनमा पर्नासाथ माटोको आर्द्रता (SM) बढाउन खर्च हुन्छ । SM को खास परिमाण यकिनसाथ अनुमान गर्न गाह्रो हुने भएकाले यस आलेखका लागि अनुमान गर्न एउटा तर्क प्रस्तुत गरेको छु । जसअनुसार, यो पानीको परिमाण नेपालभरको क्षेत्रफलको २ मिटर गहिराइसम्मको माटोको आर्द्रता ६ प्रतिशतले बढाउन खर्च हुने पानी बराबर हुने गरी अनुमान गर्ने प्रस्ताव गरेको छु ।
वास्तवमा, वर्षातकै समयमा पटक-पटक पानी पर्ने अवधिहरूका बीचमा केही समय (छोटो वा लामो) खडेरी हुने र प्रत्येक खडेरीमा माटोको आर्द्रता घट्ने तथा पुनः पानी पर्दा पुनः पूर्ति हुने भए पनि माथि उल्लेखित तरिकाले हिसाब गरी निकालिएको एकपटकको पानीको परिमाण बराबर मात्र लिन सुझाव दिएको छु । तर, यो परिमाणलाई कुनै छुट्टै विधिबाट मापन गर्न सकिने अवस्था भएमा त्यसरी मापन भएको परिमाण नै यसमा प्रयोग हुनु उचित हुन्छ । यसरी हिसाब गर्दा वर्षातका महिनामा नेपालका पहाडको SM को परिमाण २७.२९८ अर्ब घनमिटर हुने निष्कर्ष निकालेको छु ।
मैले गरेको अर्को अध्ययनअनुसार, नेपालको पहाडी क्षेत्रमा वर्षातका महिनामा कृषि तथा अन्य प्रयोजनमा वार्षिक सालाखाला ४.९१ अर्ब घनमिटर पानी खपत हुने निष्कर्ष निकालेको थिएँ । सोही परिमाणलाई यस अध्ययनमा पनि प्रयोग गर्ने जमर्को गरेको छु ।
यसरी निकालिएका परिमाणका अलावा वाष्पीकरणमा पनि पानीको उल्लेख्य परिमाण खर्च हुन्छ । सो परिमाण वर्षातका समयमा पर्ने कूल पानीको करिब २० प्रतिशत हुने कुरा माथि नै उल्लेख गरिएको भए पनि, यसरी खर्च हुने पानीको परिमाण यकिनसाथ निकाल्ने विधिको अभावमा, माथि उल्लेखित विधिबाट निकालिएको पानीको कूल परिमाणमा अन्य सबै खर्च घटाएर बाँकी रहेको परिमाणलाई ८० प्रतिशत मानी, ET (वाष्पीकरण) को परिमाण २० प्रतिशतले हिसाब गरी निकालिएको छ ।
यसअनुसार, वाष्पीकरण बाहेकको पानीको कूल परिमाण १८२.२९८ अर्ब घनमिटर हुन्छ । र वाष्पीकरणमा खर्च हुने पानीको परिमाण, वाष्पीकरण बाहेकको पानीको कूल परिमाणको एक चौथाइ हुने भएकाले वाष्पीकरणको कूल परिमाण ४५.५७५ अर्ब घनमिटर हुने देखिन्छ ।
यसरी वर्षातका चार महिनामा नेपालका पहाडी क्षेत्रमा वार्षिक सालाखाला २२७.८७३ अर्ब घनमिटर पानी पर्ने देखिन्छ । यसै हिसाबले, नेपालका पहाडी क्षेत्रमा वर्षातका चार महिनामा वार्षिक सालाखाला १,८०३.०७ मिलिमिटर पानी पर्ने निष्कर्ष निस्कन्छ । यो परिमाणको पानीमा नेपालको तराईको पानी समेत केही मिसिएको हुनसक्ने सम्भावना भए पनि यो मनसुनी वर्षाको अधिकतम परिमाण हो । तर यसो भन्दा, गैर-पहाडी क्षेत्रबाट मिसिने पानीको परिमाण अत्यन्त न्यून हुने भएकाले माथि उल्लेखित मनसुनी वर्षाको परिमाणलाई नै वास्तविक परिमाण भनी प्रयोग गर्न सकिन्छ ।
हिउँदका महिनामा नेपालका पहाडी क्षेत्रमा पर्ने पानीको विश्लेषण
हिउँदका ८ महिनामा नेपालका प्रमुख ८ नदीहरूमा मापन गरिएको पानीको परिमाणमा चीनबाट नेपाल आउने केही पानी, बरफ पग्लेर आउने केही पानी तथा पानीका मूलहरूबाट निस्कने र नदीको प्रवाहलाई कायम राख्ने केही पानी समेत समावेश भएकाले प्रथमतः ती परिमाणहरूलाई मापन गरिएको पानीको परिमाणबाट घटाउन आवश्यक हुन्छ । यसरी घटाएर आएको पानीको परिमाण नेपालको पहाडी क्षेत्रमा हिउँदका ८ महिनामा उत्सर्जन भएको पानीको परिमाण हो । तर, यो परिमाणमा हिउँदका महिनामा पर्ने पानीको केही उल्लेख्य अंश वाष्पीकरणमा, केही उल्लेख्य अंश माटोको आर्द्रता बढाउने कार्यमा खर्च हुन्छ भने केही पानी नेपालका पहाडी क्षेत्रहरूमा कृषि तथा अन्य कार्यमा प्रयोग भएको हुन्छ । त्यसैले, माथि उल्लेखित सबै स्रोतहरू तथा खर्चहरूको परिमाण यकिन गरी नेपालका पहाडमा हिउँदका महिनामा उत्सर्जन हुने पानीको परिमाण यकिन गर्न सकिन्छ ।
तर, हिउँदका महिनामा वार्षिक वर्षाको केवल १९ प्रतिशत मात्र सालाखाला वर्षा हुने गरेको नेपाल सरकारद्वारा प्रकाशित तथ्याङ्कले देखाउँछन् । त्यसैले, मनसुनको वर्षालाई वार्षिक वर्षाको ८१ प्रतिशत मान्दा हिउँदको महिनाको वार्षिक औसत वर्षाको परिमाण ५३.४५२ अर्ब घनमिटर हुने देखिन्छ ।
माथि भनिएझैं हिउँदका महिनामा हुने वाष्पीकरणमा खर्च हुने पानीको परिमाण कूल पानीको परिमाणको २० प्रतिशत हुने भन्ने मानिएकाले यो परिमाण ११.४९१ अर्ब घनमिटर हुने देखियो । यो वाष्पीकरणमा खर्च हुने पानीको परिमाणलाई माथि भनिएझैं हिसाब गर्दा हिउँदका महिनामा माटोको चिस्यान बढाउने कार्यमा ३१.७२३ अर्ब घनमिटर पानी खर्च हुने देखियो । यस परिमाणको पानीमध्ये केही थोरै पानी भूमिगत जलभण्डारणमा पनि खर्च भएको हुन सक्छ ।
माथि उल्लेख गरिएका तथ्याङ्क तथा निकालिएका निष्कर्षहरूको आधारमा निम्न बमोजिम नेपालको पहाडी क्षेत्रका पानीका परिमाणहरू निकाल्न सकिन्छ ।
वर्षाबाट पहाडी क्षेत्रमा प्राप्त हुने कूल पानी २८१.३२५ अर्ब घनमिटर र यसै हिसाबले नेपालका पहाडी क्षेत्रको औसत वार्षिक वर्षा २,२२६.०२ मिलिमिटर हुने निष्कर्ष निकालिएको छ । यसरी नै वार्षिक कूल वाष्पोत्सर्जन ६०.४७८ अर्ब घनमिटर हुने समेत यकिन गरिएको छ । यसका साथै माटोको चिस्यान बढाउने कार्यमा खर्च हुने पानीको कूल वार्षिक परिमाण ५९.०२१ अर्ब घनमिटर देखिए पनि यो पानीको परिमाणमा केही पानी हिउँदमा जलभण्डारणमा खर्च हुन सक्ने भएको हुन सक्छ । तर, सो पानीको परिमाण यो कूल पानीको परिमाणको एकदमै सानो भाग मात्र हुन सक्ने भएकाले माथि निकालिएको पानीको परिमाणलाई “माटोको चिस्यान बढाउने कार्यमा खर्च हुने वार्षिक पानीको परिमाण” भनी लिइनेछ ।
त्यसैले, नेपालको पहाडी क्षेत्रमा उपलब्ध कूल पानीको परिमाण माथि उल्लेखित संख्यामा चीनबाट नेपाल प्रवेश गर्ने पानीको परिमाण र पुरानो बरफ पग्लेर आउने पानीको परिमाण समेत जोड्दा २९४.२६५ अर्ब घनमिटर हुने देखिन्छ ।
यो त भयो नेपालको पहाडको कुरा, अब नेपालको तराईमा पानीको उपलब्धताको कुरा गरौँ ।
मेरो पहिलेको एउटा अध्ययनले नेपालको तराईमा वार्षिक सालाखाला १,९२२.०२ मिलिमिटर वर्षा हुने देखाएको थियो । यस हिसाबले २१,१०० वर्ग किलोमिटर क्षेत्रफल भएको नेपालको तराईमा वार्षिक सालाखाला ४०.५५५ अर्ब घनमिटर पानी वर्षाबाट प्राप्त हुने देखिन्छ । यस परिमाणको पानीको १९ प्रतिशत पानी हिउँदमा र यसको ८१ प्रतिशत पानी वर्षातको समयमा पर्ने तथ्याङ्कहरूले देखाउँछन् । यसको मतलब, वर्षातको समयमा नेपालको तराईमा ३२.८४९ अर्ब घनमिटर पानी वर्षाबाट प्राप्त हुने देखियो । तर, सो परिमाणको पानीमध्ये २० प्रतिशत पानी वाष्पोत्सर्जनमा खर्च हुने, करिब ११.९८ प्रतिशत पानी माटोको आर्द्रता बढाउने कार्यमा खर्च हुने, ८.८६ अर्ब घनमिटर पानी भूमिगत जलभण्डारणमा खर्च हुने र तराईमा वर्षातको समयमा धान खेती तथा अन्य प्रयोजनमा ६.१६ अर्ब घनमिटर पानी खर्च हुने समेत हिसाब गर्दा बाँकी रहेको ७.३२४ अर्ब घनमिटर पानी नेपालको तराई र छिमेकी मुलुकमा बाढी निर्माण गर्ने कार्यमा प्रयोग हुन सक्ने देखिन्छ ।
नेपाल तराईको हिउँदको पानीको परिमाणबारे कुरा गर्दा, हिउँदका महिनामा कूल वार्षिक वर्षाको १९ प्रतिशत वर्षा हुने हिसाबले हिउँदका महिनामा कूल ७.७०५ अर्ब घनमिटर पानी वर्षाबाट प्राप्त हुने देखिन्छ । तर, यो पानीको करिब २० प्रतिशत पानी वाष्पोत्सर्जनमा खर्च हुने र बाँकी सबैजसो पानी माटोको आर्द्रता बढाउने कार्यमा मात्र खर्च भई नगण्य मात्रामा मात्र नदीसम्म पुग्ने भएकाले हिउँदका महिनामा वाष्पोत्सर्जनमा १.५४१ अर्ब घनमिटर र माटोको आर्द्रता बढाउने कार्यमा बाँकी रहेको ६.१६४ अर्ब घनमिटर पानी खर्च हुने देखिन्छ । यस बाहेक, नेपालको तराईमा वार्षिक सालाखाला १.९४ अर्ब घनमिटर भूमिगत पानी प्रयोग भएको अनुमान गरिएको छ ।
निष्कर्ष
माथि उल्लेखित विवरण अनुसार नेपालमा वार्षिक सालाखाला ३३४.८१९ अर्ब घनमिटर जमिनमाथि बग्ने पानी तथा १.९४ अर्ब घनमिटर भूमिगत पानी गरी जम्मा ३३६.७५९ अर्ब घनमिटर पानी उपलब्ध हुने देखियो । सो परिमाणको पानीमध्ये १०.८२ अर्ब घनमिटर चीनबाट नेपाल आउने र २.१२ अर्ब घनमिटर पानी पुरानो बरफ पग्लेर आउने गरी जम्मा १२.९४ अर्ब घनमिटर पानी बाहेक सबै ३२१.८७९ अर्ब घनमिटर पानी नेपालमै वर्षाबाट प्राप्त हुने देखिन्छ ।
यसको मतलब, नेपालको औसत वार्षिक वर्षा २,१८४.०१ मिलिमिटर हुने देखियो, जसमा नेपालको तराईको औसत वर्षा १,९२२.०२ मिलिमिटर र नेपालको पहाडी क्षेत्रको वार्षिक औसत वर्षा २,२२६.०२ मिलिमिटर हुने देखिन्छ ।
यसरी नेपालबाट भारत प्रवेश गर्ने पानीको कूल परिमाण वर्षातका महिनामा १३३.६०५ अर्ब घनमिटर र हिउँदका महिनामा ४७.८४६ अर्ब घनमिटर गरी वार्षिक १८१.४५१ अर्ब घनमिटर हुने देखिन्छ ।
यी माथि प्रस्तुत गरिएका अंकहरूले नेपालमा वार्षिक सालाखाला १,५०० वा १,६०० मिलिमिटर पानी पर्ने र नेपालमा वार्षिक कूल २२५ अर्ब घनमिटर पानी उपलब्ध हुने भन्ने चलनचल्तीमा रहेका भनाइहरू ठिक नभएकाले तिनीहरूलाई सच्याउनुपर्ने देखिन्छ ।
यसका साथै मैले माथि प्रस्तुत गरेका अंकहरू पनि केही तथ्याङ्कहरू र केही माथि प्रस्तुत गरिएका तर्कका आधारमा निकालिएका भएकाले, सही विश्लेषणका आधारमा निर्क्योल गरिने आधिकारिक अंकहरूद्वारा सच्याई समयानुकूल बनाउनुपर्ने मेरो सुझाव छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
रेकर्ड मूल्यपछि सुनमा १ हजार रुपैयाँ र चाँदीमा ४५ रुपैयाँ घट्यो
-
ऊर्जामन्त्री घिसिङ जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर दिए श्रद्धाञ्जली
-
अपर राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
-
आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
-
नेपालमा वार्षिक कुल २२५ होइन, ३३६.७५९ अर्ब घनमिटर पानी उपलब्ध
-
शहरी विकास मन्त्री कुलमानद्वारा सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण