मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा महत्वपूर्ण ‘ब्रेकथ्रु’ — एडिट-०१ हेडरेस टनेलसँग सफल जडान
जलसरोकार
काठमाडौं : मध्य कालीगण्डकी जलविद्युत् आयोजना (६६.३ मेगावाट) ले सुरुङ निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आयोजनाअन्तर्गत निर्माण भइरहेको एडिट-०१ (Adit-01) लाई मुख्य पानी लैजाने सुरुङ अर्थात् हेडरेस टनेल (HRT) सँग सफलतापूर्वक जोडिएको छ। सुरुङभित्रबाट गरिएको यो ‘ब्रेकथ्रु’ ले आयोजना निर्माण निर्धारित मार्गमै अघि बढिरहेको पुष्टि गरेको छ।
हेडरेस टनेल भनेको बाँध क्षेत्रबाट पानीलाई विद्युत्गृहसम्म लैजाने मुख्य सुरुङ हो। यस्तो सुरुङ लामो दूरीसम्म खन्नुपर्दा एउटै दिशाबाट मात्र काम गर्दा धेरै समय लाग्ने भएकाले विभिन्न स्थानबाट एकैसाथ उत्खनन गरिन्छ। यही उद्देश्यले एडिट-०१ निर्माण गरिएको हो, जसले मुख्य सुरुङसम्म पहुँच दिँदै दुबै दिशातर्फ सुरुङ खन्न सहयोग पुर्याउँछ। अहिले हेडरेस टनेल तीन दिशाबाट निर्माण भइरहेको छ—इनलेट क्षेत्रबाट, र एडिट-०१ बाट माथिल्लो (अपस्ट्रिम) तथा तल्लो (डाउनस्ट्रिम) दिशातर्फ। यसले निर्माण कार्यलाई तीव्र र प्रभावकारी बनाएको छ।
एडिट-०१ र हेडरेस टनेलबीचको जडान सुरुङ निर्माणको संवेदनशील चरण मानिन्छ। सुरुङहरू ठीक निर्धारित रेखामै भेटिनु प्राविधिक रूपमा ठूलो चुनौती हो। यदि सर्वेक्षणमा सानो त्रुटि भए पनि सुरुङहरू एकआपसमा नमिल्न सक्छन्। त्यसैले यस्तो जडानले सर्वेक्षणको शुद्धता, डिजाइनको सटीकता र निर्माण टोलीको दक्षता प्रमाणित गर्दछ।

यस्ता स्थानमा भूगर्भीय अवस्था पनि जटिल हुन सक्छ। चट्टानको गुणस्तर, चिरा-फाट, पानीको चापजस्ता पक्षहरू ध्यानपूर्वक मूल्याङ्कन गर्नुपर्छ। आयोजनामा इन्जिनियरिङ भूगर्भविद्को सक्रिय संलग्नतामा सुरुङको भित्री भागको ‘फेस म्यापिङ’, चट्टानको वर्गीकरण (RMR, Q, GSI प्रणाली) तथा भू-जल अवस्थाको अध्ययन गर्दै आवश्यक संरचनात्मक सपोर्ट समयमै प्रदान गरिएको छ। यसले सुरक्षासँगै निर्माणको गुणस्तर सुनिश्चित गरेको बताइएको छ।
आयोजनामा हाल हेडवर्क्स उत्खनन, पावरहाउस मुख्य पहुँच सुरुङ, टेलरेस टनेल तथा सर्ज शाफ्टतर्फ जाने पहुँच मार्ग निर्माण कार्य एकैसाथ अघि बढिरहेको छ। टेलरेस टनेल तालिकाअनुसार प्रगति भइरहेको जनाइएको छ।
हाइड्रो सपोर्ट प्रालि ग्राहक रहेको यस आयोजनामा एन्जल इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि परामर्शदाता र रसुवा-मल्टी जेभी मुख्य निर्माण कम्पनीका रूपमा संलग्न छन्। सरोकारवाला निकायबीचको समन्वित सहकार्यले आयोजना सुरक्षित र सकारात्मक कार्य वातावरणमा अघि बढिरहेको छ।
दिगो जलविद्युत् पूर्वाधार विकासमा प्राविधिक दक्षता र भूगर्भीय अध्ययनको महत्वपूर्ण भूमिका रहेको परियोजनामा संलग्न प्राविधिक टोलीको भनाइ छ। मध्य कालीगण्डकी आयोजनाको यो उपलब्धिले समग्र निर्माण प्रगतिको गति थप सुदृढ भएको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्