राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास तथा सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार र उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन् ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको बताए ।
उनले नवप्रवेशी इन्जिनियरहरू अब केवल प्राविधिक जनशक्ति मात्र नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर तथा कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास र समृद्धिको इतिहास इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन तथा अथक परिश्रमसँग जोडिएको बताए । सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार तथा आधुनिक सहरहरूको निर्माण इन्जिनियरहरूको दूरदृष्टि र क्षमताको परिणाम भएको उनकाे भनाइ थियो।
इन्जिनियरिङलाई केवल गणित र विज्ञानको प्रयोगका रूपमा नहेर्न आग्रह गर्दै उहाँले समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षमता नै इन्जिनियरिङको मूल आधार भएको बताउनुभयो। सफल इन्जिनियरले संरचना मात्र निर्माण नगरी अवसर, विश्वास र भविष्य निर्माण गर्ने भएकाले उनीहरूको भूमिका राष्ट्र विकासमा अत्यन्त महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यी लक्ष्यहरू दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने स्पष्ट पारे ।
उनले सरकारी सेवामा प्राविधिक दक्षतासँगै नैतिकताको महत्व पनि उत्तिकै रहेको बताउँदै सहज र सहीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आएमा सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने धारणा व्यक्त गरे ।
मन्त्री श्रेष्ठले इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्र नभई समाजले गर्ने विश्वास भएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न आग्रह गरे । जनताको सरकारप्रतिको विश्वास राष्ट्रसेवकको इमानदार व्यवहारबाट निर्माण हुने भएकाले उच्च नैतिक आचरण कायम गर्नुपर्नेमा उनले जोड दिए ।
विश्वभर तीव्र गतिमा विकसित भइरहेको प्रविधिले इन्जिनियरिङ क्षेत्रको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै उनले निरन्तर अध्ययन, अनुसन्धान तथा नयाँ प्रविधिको आत्मसात् नगरी भविष्यका चुनौती सामना गर्न नसकिने बताउनुभयो। नवप्रवर्तनमुखी सोच र ज्ञानको नियमित अद्यावधिक आवश्यक रहेको उनकाे भनाइ थियो।
नेपालका स्रोत सीमित भए पनि सोच र सिर्जनशीलता सीमित हुन नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनमार्फत भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे । कम लागतमा गुणस्तरीय पूर्वाधार निर्माण, जलवायु परिवर्तनअनुकूल डिजाइन, हरित ऊर्जा, ऊर्जा दक्षता तथा डिजिटल प्रविधिलाई विकासको आधार बनाउनुपर्नेमा उनले विशेष जोड दिए ।
पूर्वाधार निर्माणमा गुणस्तरप्रति कुनै सम्झौता गर्न नहुने बताउँदै मन्त्री श्रेष्ठले डिजाइनदेखि कार्यान्वयन र सुपरिवेक्षणदेखि परीक्षणसम्म प्रत्येक चरणमा उच्च मापदण्ड कायम गर्न निर्देशन दिए । सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले व्यावसायिक नैतिकता र प्राविधिक मापदण्डको कडाइका साथ पालना गर्न उनले आग्रह गरे ।
कार्यक्रममा मन्त्री श्रेष्ठले देशले नयाँ पुस्ताका इन्जिनियरहरूबाट प्राविधिक दक्षतासँगै नवीन सोच, नेतृत्व क्षमता, सकारात्मक ऊर्जा तथा परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न नवप्रवेशी इन्जिनियरहरूलाई प्रेरित गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो
-
एमएसएमईको पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत सुधार आवश्यक : पूर्वअर्थमन्त्री खनाल
-
आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह