मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
जलसरोकार
तनहुँ : भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न स्थानमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणका गुनासो सुन्न भ्याइनभ्याइ भएको छ ।
शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका र भानु नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीले मन्त्री घिसिङसमक्ष अलपत्र परेका विकास आयोजना, सडक, पुल, विद्युत् र सिँचाइसम्बन्धी विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले वर्षौंदेखि रोकिएका आयोजनामा बजेट विनियोजन गरी तत्काल काम अगाडि बढाउन आग्रह गरेका हुन् ।
व्यास नगरपालिका–१३ बेलबासका स्थानीय यमबहादुर आलेले तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १७० घरधुरीलाई मुआब्जा उपलब्ध गराउन माग गरे । उनले आयोजनाका कारण बाढीको जोखिम बढेको भन्दै पुनर्वासका लागि मुआब्जा दिन सरकारको ध्यानाकर्षण गराए ।
घुमाउने पुल सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउने पुल ११ वर्षदेखि अलपत्र रहेको भन्दै मन्त्री घिसिङसमक्ष ज्ञापनपत्र बुझाए । उनले पुल निर्माण नहुँदा हजारौँ नागरिक प्रत्यक्ष प्रभावित भएको उल्लेख गरे ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकीय नगरी बन्दीपुरमा विद्युत्को भूमिगत तार विस्तार, बन्दीपुर–ढाडखोला–घुमाउने सडक तथा पिप्लेदेखि बन्दीपुरसम्मको सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गर्न माग गरे । व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले मानुङकोट जाने सडकखण्डमध्ये बाँकी करिब दुई किलोमिटर कालोपत्र गर्न आग्रह गरे ।
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले सिँचाइ योजनाका लागि बजेट आवश्यक रहेको बताउनुभयो भने शुक्लागण्डकीमा दुलेगौडा–हर्कपुर मोटरमार्ग निर्माण सङ्घर्ष समितिले लामो समयदेखि अलपत्र रहेको सडक निर्माण तत्काल सुरु गर्न माग गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले मुद्दाको प्रक्रियामा रहेको श्रृङ्गपथको विषय उठान गर्नुभयो भने सेती नदी कटानले भिमाद बजार जोखिममा परेको विषय पनि मन्त्री समक्ष राखिएको थियो ।
सबै स्थानबाट ज्ञापनपत्र बुझिसकेपछि मन्त्री घिसिङले अलपत्र परेका सडक तथा अन्य विकास आयोजनामा ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरे । उनले समयमै काम नगर्ने निर्माण व्यवसायीमाथि कडाइका साथ कारबाही गरिने स्पष्ट पारे ।
प्रतिक्रिया
भर्खरै
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो
-
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
-
विद्युत् विस्तारमा ढिलाइ हुँदा ‘उज्यालो गण्डकी’ घोषणा पछाडि
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती