बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको मन्त्री घिसिङबाट शिलान्यास
जलसरोकार
बर्दिया/कैलाली: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमाथि निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्यास गरेका छन् ।
बुधबार बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्क जोड्ने कर्णाली नदीको दौलतपुरघाटमा पुलको शिलान्यास गरिएको हो । शहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स ब्रिज डिभिजनमार्फत निर्माण हुने यस पुलको लम्बाइ ४८२.२० मिटर र चौडाइ १.६० मिटर रहनेछ ।
पुल निर्माणपछि दौलतपुर र टीकापुर दुवैतर्फका करिब दुई हजार घरधुरी लाभान्वित हुनेछन्। पुलको मध्य भागमा फोटो खिच्न मिल्ने संरचनासमेत निर्माण गरिनेछ। हाल पुल नहुँदा स्थानीयले डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । वर्षायाममा डुंगा सञ्चालन हुन नसक्दा आवतजावत नै बन्द हुने अवस्थाको अन्त्य भई पुल निर्माणपछि बाह्रै महिना सहज नदी वारपारको सुविधा उपलब्ध हुनेछ ।
शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणले टापुजस्तै रहेका राजापुर र टीकापुर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान पुग्ने बताए । दौलतपुर क्षेत्रका बासिन्दालाई टीकापुर बजारमा रहेका क्याम्पस, अस्पताललगायत सेवासुविधामा सहज पहुँच हुने तथा कृषि उत्पादन ढुवानीका लागि पनि अनुकूल वातावरण बन्ने उनको भनाइ छ । कर्णाली नदीको कटान नियन्त्रण र क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले तोकिएको समयमै पुल सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।
ठेक्का सम्झौताअनुसार पुल आगामी २०८४ साल असार ११ गतेभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । पुल निर्माणका लागि भ्याटसहित १५ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुलले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने आधार तयार गर्ने बताए । राजापुर नगरपालिका प्रमुख दिपेश थारु र टीकापुर नगरपालिका प्रमुख रामलाल दगौरा थारुले पुलले लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा दुई जिल्ला जोड्ने भएकाले आवतजावत सहज हुनुका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’