महाकाली सिँचाइ आयोजना : नहर निर्माण पूरा, पानी प्रवाह अझै अन्योलमा
जलसरोकार
कञ्चनपुर : कञ्चनपुरको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भए पनि नहरमा नियमित पानी प्रवाह गर्ने विषय अझै अनिश्चित अवस्थामा रहेको छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी इन्जिनियर यादव बरालका अनुसार, भारतीय पक्षले टनकपुरदेखि सिमानासम्म १,२०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो भूभाग ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किलोमिटर नहर खनेको छ। “हालको अवस्थामा भारतीय पक्षसँग नियमित पानी प्रवाहको सहमति नभएकाले पाँच हजार हेक्टर क्षेत्र मात्र सिँचाइ गर्न सम्भव छ,” उनले जानकारी दिए ।
आयोजनाले १८ वर्षअघि सुरु गरिएको ३३,५२० हेक्टर क्षेत्रको सिँचाइ लक्ष्यमा प्रगति त भइरहेको भए पनि पानी परीक्षण बाहेक नियमित उपलब्ध भएको छैन। चार चरणमा निर्माण भइरहेका नहरको करिब ६० प्रतिशत भौतिक प्रगति पूरा भएको छ।
सूचना अधिकारी बरालले जग्गा अधिग्रहण, ऐलानी र सुकुम्बासी विवाद तथा रुख कटान जस्ता चुनौतीहरू रहेको बताए। यस वर्ष मुआब्जासहित आयोजनाको रु दुई अर्बको बजेट कार्यान्वयनमा छ, तर मुआब्जा वितरण नहुँदा काम प्रभावित हुनसक्ने अवस्था छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भने, “नहर निर्माण भए पनि महाकालीबाट पानी ल्याउन छिमेकी राष्ट्रसँग कूटनीतिक पहल ढिला हुनु हुँदैन । नयाँ सरकारले छिटो टुङ्गो निकाल्ने अपेक्षा राख्छौँ। सिँचाइ सुविधा पुगेमा उत्पादन वृद्धि र अर्थतन्त्र बलियो हुनेछ।”
मूल नहर निर्माण सम्पन्न भएसँगै पनि पानी प्रवाहमा ढिलाइ हुनु किसान र स्थानीय अर्थतन्त्रका लागि चुनौतीपूर्ण छ। आयोजनामा प्रभावकारी समन्वय, कूटनीतिक पहल र मुआब्जा वितरण सुनिश्चित नगरे बजारमा उत्पादन र सिँचाइ लक्ष्यमा बाधा आउने सम्भावना रहन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार