लोडसेडिङ अन्त्यबाट विद्युत् निर्यातसम्मको यात्रा साझा सफलता : कुलमान घिसिङ
जलसरोकार
काठमाडौं : पूर्व ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले नेपालले लोडसेडिङको युग अन्त्य गरेर विद्युत निर्यात गर्ने अवस्थासम्म पुगेको यात्रा ऊर्जा क्षेत्रको ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले १० वर्षअघि वर्षायाममा दैनिक ८ घण्टा र हिउँदमा १४ घण्टासम्मको लोडसेडिङ भोगिरहेको नेपाल आज वार्षिक करिब २९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन्। उनले यसलाई केवल तथ्याङ्कीय परिवर्तन नभई नेपालको ऊर्जा इतिहासमा भएको महत्वपूर्ण रूपान्तरणको रूपमा व्याख्या गरेका छन्।
घिसिङका अनुसार २०७३ साल नेपालको जलविद्युत विकासका लागि निर्णायक मोड बनेको थियो। त्यतिबेला लोडसेडिङ अन्त्य गर्ने र विद्युत निर्यात गर्ने लक्ष्यलाई धेरैले असम्भव ठाने पनि तत्कालीन सरकार र नेपाल विद्युत प्राधिकरणको नेतृत्वले लिएका निर्णयका कारण आज नेपाल विद्युत् आयातकर्ताबाट खुद निर्यातकर्ता राष्ट्रमा रूपान्तरण भएको छ।
उनले एक समय करिब ५६ प्रतिशत जनसङ्ख्यामा सीमित रहेको विद्युत पहुँच अहिले झण्डै शतप्रतिशत पुगेको उल्लेख गरेका छन्। त्यस्तै, २०७३ सम्म लगभग ठप्प रहेको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने नीतिले निजी तथा सार्वजनिक लगानी आकर्षित गर्दै विद्युत उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
घिसिङले आर्थिक वर्ष २०८०/८१ मा नेपाल पहिलो पटक खुद विद्युत् निर्यातकर्ता बनेको स्मरण गर्दै भारतको खुला बजारमा विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन विस्तार, बंगलादेशमा विद्युत् निर्यातको सुरुआत तथा १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने समझदारीले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको बताएका छन्।
उनले नेपाललाई दक्षिण एशियाको हरित ऊर्जाको केन्द्रका रूपमा विकास गर्ने सम्भावना बलियो बन्दै गएको उल्लेख गर्दै अबको प्राथमिकता आन्तरिक विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन्। प्रसारण तथा वितरण पूर्वाधार विस्तार, विद्युतीय सवारीसाधनको प्रयोग, उद्योगीकरण, सिँचाइ तथा घरेलु विद्युतीकरणलाई तीव्रता दिन आवश्यक रहेको उनको धारणा छ।
घिसिङले सरकारले ठूला जलाशययुक्त आयोजना अघि बढाउन, विद्युत् उत्पादन विस्तार गर्न तथा पीपीएलाई खुला राखेर भविष्यको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नुपर्ने बताएका छन्। लोडसेडिङबाट विद्युत् निर्यातसम्मको यात्रा कुनै एक व्यक्ति वा संस्थाको नभई सम्पूर्ण नेपालीको साझा सफलता भएको उनको निष्कर्ष छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’
-
त्रिशूली थ्री ‘बी’को कार्यालय भवन नरहेको लगभग निश्चित, बी-१ र बी-२ क्वार्टर क्षेत्रमा थप उत्खनन गरिने