सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु

बाढीले केही आयोजना प्रभावित भए पनि निर्यात कारोबार बढ्यो, भारततर्फ निर्यात अनुमति प्राप्त क्षमता १,१७९ मेगावाट पुग्यो

जलसरोकार
आइतबार, कात्तिक ०९, २०८३ | ११:४६:२१ बजे

काठमाडौं : नेपाल विद्युत्‌‌‌ प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत्‌‌‌ निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत्‌‌‌ आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष असोजमा निर्यात कारोबार रकम बढेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत्‌‌‌ निर्यात पनि पुनः सुरु भएको छ ।

नेपाल विद्युत्‌‌‌ प्राधिकरणको विद्युत्‌‌‌ प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) का अनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत्‌‌‌ निर्यात भएको थियो । उक्त विद्युत्‌‌‌ बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

असोजमा भारततर्फ विद्युत्‌‌‌ निर्यात द्विपक्षीय विद्युत्‌‌‌ बिक्री सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत गरिएको थियो । द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत्‌‌‌ बिक्री गरिएको थियो भने बाँकी विद्युत्‌‌‌ डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत्‌‌‌ भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत्‌‌‌ बिक्री सम्झौताअनुसार हरियाणा र बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत्‌‌‌ बिक्री गरिन्छ ।

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत्‌‌‌ निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो । यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत्‌‌‌ निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल विद्युत्‌‌‌ प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत्‌‌‌ आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत्‌‌‌ निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत्‌‌‌ परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आईएक्समार्फत बिक्री गरिएको थियो ।

बंगलादेशतर्फ ४० मेगावाट निर्यात पुनः सुरु

नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत्‌‌‌ निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेशतर्फ विद्युत्‌‌‌ निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत्‌‌‌ केन्द्रमा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो ।

बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार विद्युत्‌‌‌ निर्यातका लागि स्वीकृति प्राप्त आयोजनामा क्षति पुगेपछि भारतको हरियाणा राज्यतर्फको निर्यात पनि आंशिक रूपमा प्रभावित भएको थियो ।

भारतको केन्द्रीय विद्युत्‌‌‌ प्राधिकरणबाट अन्य जलविद्युत्‌‌‌ केन्द्रमा उत्पादित विद्युत्‌‌‌ बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा असर परे पनि अन्य आयोजनाबाट निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत्‌‌‌ व्यापारका लागि महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

उनले यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्‌‌‌को बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत्‌‌‌ व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत्‌‌‌ केन्द्रको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत्‌‌‌ केन्द्रबाट उत्पादित विद्युत्‌‌‌ बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ ।

नेपाल विद्युत्‌‌‌ प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायाममा विद्युत्‌‌‌ निर्यात गर्ने पाँचवर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत्‌‌‌ बंगलादेशमा निर्यात गर्ने व्यवस्था छ ।

भारततर्फ निर्यात अनुमति प्राप्त क्षमता १,१७९ मेगावाट

यसैबीच, भारतको केन्द्रीय विद्युत्‌‌‌ प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत्‌‌‌ निर्यात गर्न अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ विद्युत्‌‌‌ निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १,१७९ मेगावाट पुगेको छ ।

प्रकाशित मिति : आइतबार, कात्तिक ०९, २०८३ | ११:४६:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया