सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने : सिँचाइमन्त्री श्रेष्ठ
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी-बबई, रानी जमरा कुलरिया र सुनकोशी-मरिन जस्ता प्रमुख सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने बताएका छन् । ७३औँ सिँचाइ दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले सुनकोशी-मरिन सिँचाइ आयोजनाको पुनः खरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको र भेरी-बबई आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
साथै, गण्डक, नारायणी, बागमती र सुनसरी-मोरङ जस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनःस्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, ‘वास्तविक अवरोधहरू कहाँ छन् ? त्यसको जानकारी दिनुहोस्, हामी समाधानको प्रयास गर्नेछौं ’
मन्त्री श्रेष्ठले कर्मचारीहरूसँग रहेको प्राविधिक ज्ञान कुनै नीतिगत दस्तावेजले प्रतिस्थापन गर्न नसक्ने भएकाले कर्मचारीलाई निर्देशन पालना गराउनुपर्ने मात्र नभई आफ्नो अनुभव र ज्ञान साझेदारी गर्न चाहेको पनि बताए ।
उनले अबका दिनमा सिँचाइ प्रणालीलाई केवल खेतमा पानी पुर्याउने माध्यमको रूपमा नहेरी, ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनसँग जोडेर एकीकृत प्रणालीको रूपमा व्यवस्थापन गरिने बताए ।
मन्त्री श्रेष्ठले थपे, ‘पानीले ऊर्जा, सिँचाइ, कृषि कुन मन्त्रालय वा विभागको कार्यक्षेत्र हो भनेर चिन्दैन । अवरोध अन्त्यका लागि अन्तरमन्त्रालय र निकायबीच समन्वय अनिवार्य छ ।’
उनले तल्लो तटीय फाइदा, बाढी नियन्त्रण र नदी किनारका समुदायलाई पुर्याउन सकिने लाभहरूलाई पनि मन्त्रालयको नीतिमा समावेश गरिएको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?