जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

इप्पानले गर्याे स्वागत : दस वर्षमा दस हजार मेगावाट निर्यात गर्ने सम्झौताको

जलसरोकार
आइतबार, पुस २२, २०८० | १६:३४:०० बजे

 

जलसरोकार
काठमाडौं :  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले नेपाल र भारतबीच हालै भएको ‘१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात’ सम्बन्धी सम्झौताको स्वागत गरेको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा यही पुस १९ गते दुई देशका ऊर्जा सचिवहरुले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

इप्पानले उक्त सम्झौताले ऊर्जा विकासमा आगामी दिनका महत्वपूर्ण अवसरहरु सिर्जना भई अझ ऊर्जा विकासमा अग्रसर हुनका लागि थप ढोकाहरु खुल्दै जाने ठहर गरेको छ ।  गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा विद्युत निर्यातको प्रारम्भिक रुपमा समझदारी भएकोमा अहिले आएर भएको सम्झौताको ऐतिहासिक महत्व रहेको इप्पानले आज जारी गरेको विज्ञप्तिमा छ ।

‘यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउनेछ भन्नेमा विश्वस्त छौं, इप्पानले भनेको छ ।
हाल अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको छ । यसमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ भने आगामी १० बर्षमा १० हजार मेगावाटको बिद्युत निर्यातमा पनि निजी क्षेत्रको महत्वपूर्ण योगदान हुने इप्पानको भनाइ छ ।

‘यति धेरै मेगावाट बिजुली निर्यात गर्नका लागि निजी क्षेत्रको संलग्नताविना असम्भवनै छ । यसका लागि निजी क्षेत्र तयार रहेको पनि जानकारी गराउन चाहन्छौ’ विज्ञप्तिमा छ ।
‘यो सम्झौतासँग अब नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) को पूर्ण रुपमा खुल्ला हुनुपर्ने इप्पानको माग । निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार थप सक्रिय भई अघि तुरुन्तै अघि बढ्नुपर्छ,’ इप्पानले भनेको छ ।

१० हजार मेगावाट विद्युत निर्यात तथा सरकारले आगामी १२ बर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित गर्न लागेको मार्गचित्र कार्यान्वयनका लागि अहिले देखिएका सबै समस्या समाधान गर्ने गरी अधिकार एकद्धार प्रणालीमा आधारित विशेष डेस्क स्थापना गरी चुस्त दुरुस्त रुपमा काम गर्नु आवश्यक रहेको उसको ठम्याइ छ । सरकारको तर्फबाट यसमा सुधार नभएमा निर्यात र उत्पादनको लक्ष्य हासिल गर्न असम्भव प्रायः नै हुने इप्पानको भनाइ छ ।
नेपालमा विद्युत उत्पादन भएको ११२ वर्ष पुगेको छ । २८ सय ३७ मेगावाट बराबर उत्पादन क्षमता रहेकोमा हाल निजी क्षेत्रको योगदान मात्र २१ सय ७५ मेगावाट बराबर छ । हाल निजी क्षेत्रले मात्र ३१ सय मेगावाट आयोजना बनाईरहेको छ भने निजी क्षेत्रले निर्माण गर्न लागेका २० हजार मेगावाट बराबरका आयोजना निर्माणका विभिन्न चरणमा छन् । ।

नेपाल र भारतबीच बिद्युत आदानप्रदान हुन थालेको पनि ५० बर्ष नाघेको छ । सन् १९७१ देखि दुई देशबीच विद्युत आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भएको थियो ।

‘इप्पान डे’ मनाउने
इप्पानले आफ्नो स्थापना वर्ष मनाउने भएको छ । २०५७ साल माघ ४ गते स्थापना भएको इप्पान २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गर्न लागेको अवसरमा आगामी माघ ४ गते होटल याक एण्ड यतिमा एक विशेष कार्यक्रमको आयोजना गरिने जनाएको छ ।  देशका उच्च पदस्थ व्यक्तिसहित ऊर्जा क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा इप्पान डे मनाउन लागेको हो । उक्त दिन नेपालको ऊर्जा क्षेत्रको विकासक्रम समेटिएको ‘ऊर्जा समृद्धि’ स्मारिका प्रकाशन गर्नुका साथै जलविद्युतमा लगानी गर्ने पहिलो बैंक, पहिलो निर्माण कम्पनी, पहिलो बीमा कम्पनी र एक जना वरिष्ठ ऊर्जा पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ । त्यस्तै मुख्य मुख्य राजनीतिक दलका वरिष्ठ नेताहरु सहभागी हुने ’हाइ लेभल इनर्जी टक’ तथा दीगो ऊर्जासम्बन्धी विशेष सेसन समेत राखिने इप्पानले पत्रकार सम्मेलनमा जनाएको छ ।

प्रकाशित मिति : आइतबार, पुस २२, २०८० | १६:३४:०० बजे

प्रतिक्रिया