जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मेलम्ची खानेपानी अझै कतिपटक उद्घाटन हुन्छ ?

मेलम्ची आयोजना बन्नमै ३५ अर्ब बढी रकम खर्च, वर्षेनी मर्मतमा कराेडौं स्वाहा

कमल धिताल
सोमबार, माघ ०१, २०८० | १६:१०:०० बजे

 

काठमाडाैं- मेलम्ची खानेपानी आयोजना जनताले यसको नाम बारम्बार सुन्न थालेको झन्डै ३० वर्षबढी भयो । आयोजना नबन्दासम्म काठमाडौंबाट चुनावमा उठ्ने नेताले यहाँका जनतालाई मेलम्चीको पानी ल्याएर खुवाउने प्रत्येक भाषणमा दोहोराउने गरेका थिए । आयोजनाको अध्ययनमा त्रुटिका कारण हिउँदको केही महिनामात्र आउने गरेको मेलम्ची वर्षेनी बाढीले क्षति गर्दा दुहुनो गाई जस्तै भएको छ । मेलम्ची मन्त्रि, कर्मचारी र ठेकेदारकोे लागि दुहुनो गाई भएको छ भन्दा पनि फरक नपर्ला । अर्थात मेलम्ची खानेपानी आयोजना प्रत्येक वर्ष बाढीले क्षति गर्ने र मर्मतको नाममा करौडौं कुम्ल्याउन पाउने । यसअघि ४ पटक औपचारिक रुपमा उद्घाटन भएको मेलम्ची आज प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः उद्घाटन गरेका छन् । यसलाई उनले उद्घाटन नभई पुनः वितरणको नाम दिएका छन् । आखिर जे होस् पूर्ववत जस्तै उनले धारो खोलेर मेलम्ची ल्याएम भन्दै भाषण गरे ।

मेलम्चीमा दुई वर्षअघि बाढी आएर अस्थायी संरचनामा क्षति पुग्यो । त्यसलाई मर्मत गर्ने नाममा सात करोड रुपैयाँ सकियो । गत असारमा सोही ठाउँमा त्यसरी नै बाढीले क्षति पुर्यायो । यसमा पनि करौडौं स्वाहा । मेलम्ची आयोजनाको सुरुवाती लागत अनुमान ४६ करोड ४० लाख अमेरिकी डलर रहेको थियो । आयोजनामा निर्माणमा जापान बैंक अफ इन्टरनेशनलले ५ करोड २० लाख, नोराडले २ करोड ८० लाख डलर, स्वीडिस सहयोग नियोग (सीडा) ले २ करोड ५० लाख डलर, नर्डिक डेभलपमेन्ट फण्डले १० लाख डलर, नेपाल सरकार ११ करोड ८० लाख अमेरिकी डलर सुरुवाती लागत थियो । तर सन् २००७ मा आएर एडीबी र नेपाल सरकारले यसको लागत २८ प्रतिशत घटाएर आयोजनाको कुल लागत ३१ करोड ८२ लाख अमेरिकी डलर (तत्कालीन मूल्यमा करिब २१ अर्ब रुपैँया) निर्माण गर्न सकिने भनेर उल्लेख गरिएको थियो । तर, आयोजना निर्माणसम्म आइपुग्दा यसको लागत ३५ अर्बभन्दा माथि पुगेको छ ।

३५ अर्ब बढी खर्च भएको आयोजनाले हिउँदका केही महिना राजधानीबासीको धारा भिजाएपछि पुनः वर्षा नलाग्दै बन्द गर्ने र बाढीले हेडवक्र्समा क्षति पुग्ने अनि मर्मतको नाममा करौडौं स्वाहा हुने शृङ्खला दोहोरिरहने निश्चित छ । यसपटक पनि मर्मतको नाममा करोडौं स्वाहा पार्दै राजधानीबासीको धारामा मेलम्ची आइपुगेको छ । आज अर्थात माघ १ गते प्रधानमन्त्री दाहालले पुनः वितरणको नाम दिँदै पाँचौपटक मेलम्चीको औपचारिक उद्घाटन गरेका छन् । माघे संक्रान्तिका दिन सिंहदरबारस्थित आफ्नो कार्यलय ‘ढुंगेधारा’ खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुभारम्भ गर्दे भाषण ठोके ।

यसअघि २०७७ फागुनमा तत्कालीन प्रम केपी ओलीले पहिलोपटक मेलम्चीको औपचारिक उद्घाटन गरेका थिए भने चैतमा भृकुटीमण्डमा रहेको ढुङ्गे धाराको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । यस्तै २०७९ वैशाखमा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेका थिए । २०७९ मंसिरमा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले पुनः उद्घाटन गरेका थिए ।
सोमबार उद्घाटनमा प्रधानमन्त्रीले भ्रेमथाङको भेलबाढीका कारण क्षतिग्रस्त हेडवर्क्सबाट पथान्तरण गर्नुपर्ने र वर्षायाममा सुरूङसमेत जोगाउनुपर्ने भएकाले पानी आउन ढिला भएको बताए । प्रधानमन्त्रीको भनाइमा पुनः मेलम्चीको मुहान सार्नुपर्छ । अर्थात मेलम्चीमा अझै अर्बौ रुपैँया खर्च हुने निश्चित छ । ‘दीर्घकालीन रूपमा समस्या समाधान नहुञ्जेलसम्मका लागि हरेक वर्ष मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै अरबौं लगानीमा निर्मित मुख्य संरचनाको रूपमा रहेको २७ किलोमिटर लामो सुरूङलाई क्षति हुनबाट जोगाउन मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यताका कारण बाह्रै महिना पानी आपूर्ति गर्न नसकिएकोप्रति आम उपभोक्ताहरूमा जानकारी गराउँछु । यस वर्षको बाढीले मेलम्ची हेडवर्क्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकोले मेलम्ची पानी आपूर्तिमा केही विलम्ब हुन गएकोप्रति पनि हाम्रो दायित्ववोध भएको छ,’ प्रधानमन्त्रीले भने ।

यस्तो छ मेलम्चीको खानेपानीको कथा
विसं २०२९मा खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन भएको आयोजना वि.स २०४१ सालमा साविक हेलम्बु गाविसको मेलम्ची नदीसहित अन्य २२ विकल्प पहिचान भएको थियो । मेलम्ची आयोजनालाई २०४९ सालमा हेलम्बुपूर्वको याङ्ग्री र लार्केसमेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने निष्कर्षमा सरकार पुगेको थियो । सो पश्चात २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । २०६४ सालमा नेपाल सरकार र प्रमुख दाता एसियाली विकास बैंकबीच ६ वर्षभित्र सम्पन्न गर्ने सहमति सम्झौता भएको थियो । २०६५ सालमा सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का भएको भई २०६६ साल वैशाखमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरूङको काम अघि बढाइएको थियो ।

२०६९ सालमा ६ किलोमिटर निर्माण गरिसकेपछि चाइना रेलवे कम्पनीसँगको ठेक्का रद्द गरी २०७० सालमा बाँकी सुरुङ निर्माण गर्न इटलीको सिएमसीलाई ठेक्का सम्झौता गरिएको थियो । २०७५ सालमा २५ किलोमिटरभन्दा बढी सुरूङ खनिसकेको अवस्थामा फेरि विवाद, सिएमसीसँगको ठेक्का पनि रद्द पश्चात २०७६ सालमा सुरूङ र हेडवर्क्सका बाँकी काम गर्न सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो । २०७७ असार २१ सुरुङको पहिलो परीक्षण सफल भएका थियो भने सोही वर्ष असार ३० गते अडिट टनेल भत्कँदा दुई जनाको मृत्यु, दुई जना घाइते भएका थिए ।

२०७७ फागुन १० मा सुरूङमा पानी परीक्षण सुरू फागुन २२ मेलम्चीको पानी सुन्दरीजल पहिलोपटक काठमाडौं आइपुगेको थियो । २०७७ चैत १५ मेलम्चीको वितरणस्वरूप उपत्यकावासीको धारामा पुगेको थियो । २०७७ चैत २० राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन भएको आयोजनाको २०७८ असार १, साउन १६ र १७ गतेको भ्रेमाथाङको बाढीले हेडवर्क्स तहसनसह भएको थियो । यस्तै २०८० साउन २८ र २९ को बाढीले मुहान क्षेत्रमा पुनः क्षति भएको आयोजना आजबाट पुनः राजधानीको बासीको धारामा पुगेको छ ।

प्रकाशित मिति : सोमबार, माघ ०१, २०८० | १६:१०:०० बजे

लेखकको बारेमा

कमल धिताल
पत्रकारितामा सक्रिय धिताल आर्थिक क्षेत्रमा कलम चलाउँछन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका उनी जलसरोकारमा कार्यरत छन् ।

प्रतिक्रिया