जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कुन प्रदेशमा विद्युतका कति ग्राहक, खपत र आम्दानी ? (विवरण र चार्टसहित)

सबैभन्दा धेरै ग्राहक र आम्दानी बागमती, सबैभन्दा कम कर्णाली प्रदेश

जलसरोकार
आइतबार, भदौ ०२, २०८१ | १९:१७:३५ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै ग्राहक देशको संघीय राजधानी रहेको बागमती प्रदेशमा रहेको पाइएको छ ।
प्राधिकरणले हिजो प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार आव २०८०/८१ मा बागमती प्रदेशको कुल ग्राहक संख्या १२ लाख ३७ हजार ९ सय ९७ छ । यो प्रदेशलाई प्राधिकरणले गत वर्ष ३१ लाख १६ हजार ९ सय ७० मेगावाट घण्टा (३ अर्ब ११ करोड ६९ लाख ७० हजार युनिट) बिजुली बेच्यो ।
यसबाट ३३ अर्ब १६ करोड ९० लाख ५० हजार रुपैयाँको बिलिङ भयो, यसमध्ये प्राधिकरणले गत आवमा ३२ अर्ब २९ करोड ९७ लाख ७० हजार रुपैयाँ उठाउन सफल भयो । 
बागमतीपछि दोस्रो ठूलो ग्राहक र आय भएको प्रदेश हो मधेस । यो प्रदेशमा गत आवमा ११ लाख ४८ हजार ६ सय ७४ ग्राहक रहेको प्रतिवेदनमा उल्लेख छ । मधेस प्रदेशमा प्राधिकरणले २१ लाख ३८ हजार मेगावाट घण्टा बिजुली बेच्यो । यसबाट प्राधिकरणले १९ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गर्यो, जसमध्ये १७ अर्ब ५१ करोड रुपैयाँ उठाइसकेको छ । 
बिजुली बाल्ने ग्राहक संख्या र तिनले तिर्ने रकमका आधारमा कोशी प्रदेश तेस्रो स्थानमा रहेको प्राधिकरण प्रतिवेदनले देखाएको छ । कोसीको ग्राहक संख्या १० लाख ४४ हजार  एक सय ९१ छ । कोशीमा १७ लाख १६ हजार मेगावाट घण्टा बिजुली बिक्री भयो । यसबाट प्राधिकरणले १६ अर्ब १३ करोड रुपैयाँ आम्दानी गर्यो, जसमध्ये १५ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको छ । 
बिजुली खपत, ग्राहक संख्या र आम्दानीका हिसाबले लुम्बिनी चौथो ठूलो प्रदेशको रुपमा रहेको छ । लुम्बिनीमा कुल ग्राहक संख्या ९ लाख ९५ हजार ३ सय ८६ रहेको छ । ग्राहक संख्या बागमती, मधेस र कोसीभन्दा कम रहे पनि बिजुली खपतमा भने बागमतीपछि लुम्बिनी अग्रस्थानमा देखिएको छ ।
लुम्बिनीमा गत वर्ष २१ लाख मेगावाट आवर बिजुली खपत भयो । यसबाट प्राधिकरणले झन्डै २० अर्ब रुपैयाँको बिजुली बिक्री गर्यो । यसमध्ये १९ अर्ब रुपैयाँभन्दा बढी संकलन भइसकेको छ ।
यता गण्डकी प्रदेशको ग्राहक संख्या सुदूर पश्चिमको भन्दा अलि बढी देखिएको छ । गत वर्ष गण्डकी प्रदेशमा प्राधिकरणको ग्राहक संख्या ४ लाख ९८ हजार १ सय ३२ थियो । 
बिजुली खपतका हिसाबले पनि गण्डकी प्रदेश पाँचौं नम्बरमा पर्छ । गत वर्ष गण्डकीमा ६ लाख ८७ हजार मेगावाट घण्टा मात्र बिजुली खपत भयो । यसमा ६ अर्ब ७० करोड रुपैयाँ बिलिङ भएकोमा ६ अर्ब ६८ करोड रुपैयाँ संकलन भइसकेको छ । 
प्राधिकरणको सबैभन्दा कम ग्राहक भएको प्रदेश कर्णाली रहेको प्रतिवेदनले देखाएको छ । कर्णाली प्रदेशमा जम्मा ग्राहक संख्या एक लाख ६२ हजार ३ सय ८५ छन् । बिजुली खपतका हिसाबले पनि कर्णाली सबैभन्दा पछाडि छ । 
गत आवमा कर्णालीमा जम्मा ८३ हजार मेगावाट घण्टा मात्र बिजुली खपत भएको थियो । यसबाट प्राधिकरणले ८० करोड ९६ लाख रुपैयाँ मात्र आम्दानी गर्यो । कर्णालीमा पनि महसुल संकलन दर उच्च रहेको देखिएको छ । प्राधिकरणले ७९ करोड ६४ लाख रुपैयाँ संकलन गरिसकेको छ ।
यसैगरी सुदूर पश्चिममा प्राधिकरणको ग्राहक संख्या गत वर्ष ३ लाख ७२ हजार ५ सय १२ रहेको प्रतिवेदनले देखाएको छ । सुदूर पश्चिममा गत वर्ष  ३ लाख ७६ हजार मेगावाट घण्टा बिजुली खपत भएको देखिन्छ ।
सुदूर पश्चिममा प्राधिकरणले गत वर्ष ३ अर्ब २४ करोड रुपैयाँ आम्दानी गर्यो, यसमध्ये ६ करोड रुपैयाँ मात्र संकलन हुन बाँकी छ ।

गत आवमा प्राधिकरणले देशभरबाट ९५ अर्ब ४८ कराेड रुपैयाँ महसुल संकलन गरेकाे छ । याे रकम अघिल्लाे वर्षको भन्दा ९.७८ प्रतिशत बढी हाे । 
 

 

प्रकाशित मिति : आइतबार, भदौ ०२, २०८१ | १९:१७:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया