जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हेटौंडा–इनरुवा ४०० केभी प्रसारण लाइन ११ वर्षमा पनि सकिएन

कमल धिताल
बिहीबार, पुस २६, २०८० | १५:३६:०० बजे

 

काठमाडौं :२०६९ को माघमा ३० महिनामा सक्ने गरी निर्माण थालिएको ४०० केभी क्षमताको हेटौडा–ढल्केवर–इनरुवा ११ वर्षसम्म पनि पुरा हुन सकेको छैन ।
मुलुकको आन्तरिक विद्युत् खपत र सीमापार विद्युत व्यापारका लागि नभई नहुने उक्त प्रसारण लाइन अवरोधले दुई देशबीच हुने विद्युत व्यापारमा समेत असर पर्ने देखिएको छ । ११ वर्ष अघिदेखि निर्माण सुरु गरिएको उक्त प्रसारण लाइन आयोजनामा करिब २४ वटा टावर निर्माणमा अवरोध रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन स्थानीय अवरोधले काम अघि बढाउन समस्या परेको हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनका प्रमुख श्याम यादवले जलसरोकारलाई जानकारी दिए ।
‘मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५, १६ तथा १७ वडास्थित हटिया र सर्लाहीको लालबन्दी क्षेत्रमा अवरोध छ,’ उनले भने, ‘यसको लागि पटक–पटक गरिएको प्रयास पनि सफल हुन नसेपछि हालसम्म हामीले टावर निर्माण गर्न सकेका छैनौं ।’

यादवकाअनुसार २ सय ८८ किलोमिटर प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमा मकवानपुर क्षेत्रमा २४ वटा टावर निर्माणमा अवरोध छ । करिब ७५० वटा टावर निर्माण भइसेकेको र केहीमा फाउन्डेसनको काम हुँदै गरेको यादवले जनाए ।
‘मकवानपुर अवरोध रहेको स्थानमा टावर निर्माण हुन बाँकी छ र अन्य क्षेत्रमा तार तान्ने काम मात्र बाँकी रहेको छ । ‘अवरोध हटे यो आयोजना करिब एक वर्षमा सकिन्छ’ उनले भने । यो संरचना देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारको लागि निकै महत्वपूर्ण मानिएको छ ।

हटिया क्षेत्रमा १४ वटा, हेटौडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभ¥याङमा २ वटा र जियाजोर क्षेत्रमा ८ वटा टावर निर्माणमा अवरोध छ । थानाभर्याङ स्थित सबस्टेसनमा लाइन छिराउन २ वटा टावर निर्माण गर्नु पर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटा घर प्रभावित हुने प्राधिकरणले जनाएको छ । यस क्षेत्रका स्थानीयले करिब ७ वर्षदेखि रुट परिवर्तनको माग गर्दै अवरोध गरिरहेको यादवले जानकारी दिए ।

‘त्यस क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरेका कारण पनि झण्डै १० वर्षअघि सुरु भएको रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अघि बढेको छैन्,’ उनले भने, ‘स्थानीय अवरोध खुलाई निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले पटक–पटक प्रयास गरेको छ तर पनि स्थानीयले अवरोध कायमै राखेका छन् ।’

रुट परिवर्तन गर्नुपर्ने स्थानीयको प्रमुख माग रहेको आयोजना प्रमुख यादवको भनाइ छ । ‘केही क्षेत्रमा रुट सामान्य परिवर्तन समेत गरे पनि पूर्ण रुपमा रुट परिवर्तन गर्न नसकिने र यसका लागि थप लामो प्रक्रियाबाट जानुपर्ने भएका कारण पनि यो सम्भव छैन,’ यादवले भने, ‘स्थानीयसँग छलफल गरेर समाधान खोज्ने प्रयास भएको छ ।’
व्यतिmगत जग्गा धेरै परेका कारण पनि सो क्षेत्रमा प्रशारण लाइन निर्माणमा समस्या भएको हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाको भनाइ छ । ‘प्रशारण लाइन निर्माणको अवरोध हटाउन लागि परेका छौं,’ उनले भनिन, ‘धेरै स्थानीयको जग्गा परेका कारण पनि बढि मुआब्जा र रुट परिवर्तनको माग गरेर अवरोध गरेका कारण समस्या भएको छ । जतिसक्दो चाँडो यसलाई समाधान गर्छौं ।

उक्त प्रसारण लाइन मकवानपुरको हेटाैडा उपमहानगरपालिका–११ थानाभर्याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थिति इनरुवा सबस्टेसनमा जोडिने प्रसारण लाइन १० जिल्ला पार भएर जान्छ ।
प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्य सम्पादनलगायतका कारणले निर्माण ढिला भएको प्राधिकरणको भनाइ छ ।

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २ सय ८८ किलोमिटर प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमध्ये ७ सय २८ वटा टावरको जग हालिएको छ । ७ सय ८ वटा टावर खडा गरिएको छ ।
१७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो ।
निरन्तर अवरोध पश्चात यस आयोजनाबाट विश्व बैंक बाहिरिएको थियो । यसबाट मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापार सहज हुने अपेक्षा प्राधिकरणको रहेको छ ।

प्रकाशित मिति : बिहीबार, पुस २६, २०८० | १५:३६:०० बजे

लेखकको बारेमा

कमल धिताल
पत्रकारितामा सक्रिय धिताल आर्थिक क्षेत्रमा कलम चलाउँछन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका उनी जलसरोकारमा कार्यरत छन् ।

प्रतिक्रिया