चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
जलसरोकार
काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र कीर्तिपुर तथा ललितपुरको पुल्चोक आसपासको आपूर्तिलाई थप भरपर्दो बनाउन १३२/११ केभी चोभार सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ । सबस्टेसन सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा विद्युत् वितरणको क्षमता बढाउन र आपूर्ति प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कीर्तिपुर नगरपालिका-६ मा निर्माणाधीन सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । तीमध्ये एउटा ट्रान्सफर्मर दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याउने तयारी छ ।
सबस्टेसनमा विद्युत् आपूर्तिका लागि थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ-चोभार खण्डको एउटा सर्किट यसअघि नै चार्ज भइसकेको छ ।
चोभार सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोकतर्फ र छवटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन् । फिडर लाइन विस्तारको काम अन्तिम चरणमा रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझा, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाललगायतको टोलीले बिहीबार सबस्टेसनको स्थलगत अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएको थियो ।
अनुगमनका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले प्रसारण लाइन चार्ज भइसकेकाले बाँकी काम शीघ्र सम्पन्न गरी दशैंलगत्तै सबस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । उनले आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न मातातीर्थ-चोभार प्रसारण लाइन र चोभार सबस्टेसन महत्त्वपूर्ण हुने बताएका थिए ।
थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माण अघि बढाउन अवरोध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा सबस्टेसन निर्माण गरिएको हो ।
चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ ।
चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।
एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्