सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट विद्युत् प्रणालीमा जोडियो

जलसरोकार
आइतबार, कात्तिक ०२, २०८३ | ०९:२९:३५ बजे

काठमाडौं : बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना-राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्‌कालीन पुनःस्थापना प्रणाली (इमर्जेन्सी रिस्टोरेसन सिस्टम-इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो ।

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्‍याएको उक्त प्रसारण लाइनको २२० केभीको एउटा सर्किट शनिबार राति सवा १० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । लाइन पुनः सञ्चालनमा आएसँगै दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका पाँचवटा निजी जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् पुनः प्रणालीमा प्रवाह हुन थालेको छ ।

बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्‍याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो । टावरमा क्षति पुगेपछि प्रसारण लाइन अवरुद्ध हुँदा ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणका कर्मचारीको निरन्तर प्रयास र निजी क्षेत्रका जलविद्युत् आयोजनासँगको सहकार्यमा इआरएस टावर प्रयोग गरी प्रसारण लाइन अस्थायी रूपमा सञ्चालनमा ल्याउन सफलता मिलेको बताए। भौगोलिक रूपमा अत्यन्त जटिल र दुर्गम स्थानमा इआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उनले उल्लेख गरे।

प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार इआरएस टावरमार्फत प्रसारण लाइन सञ्चालनमा ल्याइएपछि बाढीले क्षति पुर्‍याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ । स्थायी टावर निर्माण सम्पन्न भएपछि दाना-राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउनेछ ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित दाना सबस्टेसनबाट सुरु हुने यो प्रसारण लाइन पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्छ ।

करिब १३० किलोमिटर लामो यस प्रसारण लाइनको विद्युत् प्रवाह क्षमता करिब १ हजार २०० मेगावाट छ ।

प्रकाशित मिति : आइतबार, कात्तिक ०२, २०८३ | ०९:२९:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया