दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
जलसरोकार
काठमाडौं : बडादशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत् प्राधिकरणले देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । विद्युत् आपूर्तिमा समस्या आए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोली परिचालन गर्न तथा उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्न प्राधिकरणले सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी दशैं अवधिभर विद्युत् आपूर्ति नियमित राख्न आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध भए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी काम भए तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न पनि उनले सम्बन्धित कार्यालय प्रमुखहरूलाई भनेका छन् ।
दशैंका समयमा विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल प्राविधिक टोली परिचालन गरी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पनि कार्यालय प्रमुखहरूलाई भनिएको छ ।
दशैंमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ । विद्युत् माग तथा आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गरी प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाइएको पनि प्राधिकरणको भनाइ छ ।
यसैबीच, प्राधिकरणले चाडपर्वका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र गराउन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत