सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

गुनासो सुन्ने होइन, समाधान गर्ने अभ्यासमा ऊर्जा मन्त्रालय

हटलाइन ११५१ मार्फत दुई महिनामै १० हजारभन्दा बढी उजुरी सम्बोधन

जलसरोकार
सोमबार, जेठ ०४, २०८३ | १२:३०:५७ बजे

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सेवा प्रवाहलाई परिणाममुखी बनाउने प्रयासस्वरूप जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई प्राथमिकतामा राख्न थालेको छ । ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेपछि मन्त्रालयले ‘गुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्‍याउने’ कार्यशैलीलाई अघि बढाएको हो ।

मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप सक्रिय र प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ । २४सै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब गुनासो टिप्ने माध्यममा सीमित नरही समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा प्रयोग हुन थालेको मन्त्रालयको दाबी छ ।

फोन, ह्वाट्सएप, इमेल तथा हेलो सरकारमार्फत प्राप्त गुनासोलाई सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समाधान गर्ने अभ्यासलाई तीव्र बनाइएको छ । मन्त्री श्रेष्ठको सचिवालयले नियमित प्रशासनिक प्रक्रियाभन्दा सक्रिय र जवाफदेही ढंगले काम गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जन र स्वकीय सचिव राजा शाक्य स्वयं विभिन्न जनसरोकारका विषयमा सम्बन्धित निकायसँग समन्वयमा खटिँदै आएका छन् । सचिवालयले गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउने मात्र नभई समाधानको अवस्थासम्म पछ्याउने अभ्यास थालेको जनाएको छ ।

मन्त्रालयका अनुसार चैत १५ गतेयता हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । चैत १५ देखि चैत मसान्तसम्म फोनमार्फत ४ हजार २४८, ह्वाट्सएपबाट १४, इमेलबाट २ र हेलो सरकारमार्फत ५ वटा गुनासो दर्ता भएका थिए । वैशाख महिनाभर मात्रै फोनमार्फत ६ हजार २६, ह्वाट्सएपबाट ९२ तथा इमेलबाट १० वटा उजुरी प्राप्त भएका छन् ।

यस अवधिमा लिखित रूपमा आएका दुई सयभन्दा बढी निवेदन तथा सञ्चारमाध्यममा प्रकाशित जनसरोकारका विषयलाई समेत सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्राप्त अधिकांश गुनासो विद्युत् सेवासँग सम्बन्धित रहेका छन् । विद्युतीय दुर्घटना, लाइन अवरुद्ध हुने, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, प्रसारण तथा वितरण लाइनमा समस्या, पोल तथा टावर ढल्ने, पोल स्थानान्तरण, तारमा आगलागी, मिटर तथा पोल नपाउने, मिटर रिडिङ समस्या, विद्युतीय सवारीसाधन चार्जिङ तथा सिँचाइसम्बन्धी समस्या प्रमुख रूपमा उठेका छन् ।

कतिपय घटनामा मन्त्रालयको प्रत्यक्ष सक्रियता समेत देखिएको छ । बाँकेको चिसापानी क्षेत्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेपछि मन्त्रालयले तत्काल समन्वय गरी सेवा पुनःस्थापनालाई प्राथमिकता दिएको थियो । घटनाबारे छानबिन प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रमा अवरुद्ध विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो । काठमाडौंको स्वयम्भू क्षेत्रमा सडकको बीचभागमा वर्षौंदेखि ठडिएका पोल स्थानान्तरणको विषय पनि मन्त्रालयमा पुगेको गुनासोमध्ये एक थियो । स्थानीय तह, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच समन्वय गरी उक्त समस्या समाधान गरिएको सचिवालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयले पछिल्लो समय अवलम्बन गरेको यो शैलीले सेवाग्राहीमा ‘सुनुवाइ हुने सरकार’को अनुभूति दिलाउने प्रयास गरेको देखिन्छ । गुनासो दर्ता गरेर महिनौं कुर्नुपर्ने पुरानो प्रवृत्तिभन्दा फरक तत्काल प्रतिक्रिया, प्रत्यक्ष अनुगमन र समाधानमुखी अभ्यासले सार्वजनिक सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : सोमबार, जेठ ०४, २०८३ | १२:३०:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया