दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
जलसरोकार
चितवन : तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटानको काम सुरु गरिएको छ। राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएपछि उक्त कार्य अघि बढाइएको हो।
आयोजनाले गत वैशाख २६ गते रुख कटानको स्वीकृति प्राप्त गरेको थियो। डिभिजन वन कार्यालय चितवनसँगको सम्झौताअनुसार रुख कटान, काठ सङ्कलन तथा सुरक्षित भण्डारणसम्बन्धी कार्य सञ्चालन भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
उनका अनुसार रुख कटान तथा सुरक्षित भण्डारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपछि सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहले कटान र काठ सङ्कलनको काम सुरु गरेका हुन्।
“स्वास्थ्य, सुरक्षा तथा वातावरणसम्बन्धी निर्धारित मापदण्डको पूर्ण पालना गर्दै काम भइरहेको छ,” भण्डारीले भने, “कटान गरिएका काठको सङ्कलन, सुरक्षित भण्डारण र व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता समूहलाई तारबार तथा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरिएको छ।”
प्रसारण लाइनको मार्गमा पर्ने भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वन तथा वडा नं. २९ का अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिने जनाइएको छ। यता तनहुँतर्फ भने रुखमा छाप चिन्ह लगाउने कार्य जारी रहेको आयोजनाले जनाएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कुल ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा नौ हजार १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो।
प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गतको काम भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले गरिरहेको छ। ३५ किलोमिटर लामो प्रसारण लाइनमा निर्माण गरिनुपर्ने ९४ वटा टावरमध्ये हालसम्म ८२ वटा टावरको जग निर्माण र ७२ वटा टावर जडान सम्पन्न भइसकेको छ। आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत पुगेको जनाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन