ऊर्जामन्त्री खड्का र भारतका विद्युत् मन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासका विविध विषयमा छलफल
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।
ऊर्जा मन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युत् मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन माघ ९ गते दुई देशबीचको सहसचिवस्तरिय बैठक र माघ २९ गते सचिवस्तरिय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युत् मन्त्रीलाई धन्यवाद दिए ।
ऊर्जा मन्त्री खड्काले गत वर्षको नोबेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुख्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।
हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन । ऊर्जा मन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।
ऊर्जा मन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत् मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिनु भए पनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुने गरी छलफल भएको छ ।
भेटमा भारतका विद्युत् मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैं भारतको साथ र सहयोग रहेको बताए । उनले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताए थिए । भारतका विद्युत् मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए ।
भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।
यस्तै, भारतीय तर्फबाट विद्युत् मन्त्री खट्टरसँगै विद्युत् सचिव पङ्कज अग्रवाल र भारतको विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना