ऊर्जामन्त्री खड्का र भारतका विद्युत् मन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासका विविध विषयमा छलफल


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।
ऊर्जा मन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युत् मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन माघ ९ गते दुई देशबीचको सहसचिवस्तरिय बैठक र माघ २९ गते सचिवस्तरिय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युत् मन्त्रीलाई धन्यवाद दिए ।
ऊर्जा मन्त्री खड्काले गत वर्षको नोबेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुख्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।
हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन । ऊर्जा मन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।
ऊर्जा मन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत् मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिनु भए पनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुने गरी छलफल भएको छ ।
भेटमा भारतका विद्युत् मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैं भारतको साथ र सहयोग रहेको बताए । उनले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताए थिए । भारतका विद्युत् मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए ।
भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।
यस्तै, भारतीय तर्फबाट विद्युत् मन्त्री खट्टरसँगै विद्युत् सचिव पङ्कज अग्रवाल र भारतको विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो
-
देशभर मौसम आज पनि सफा रहने