बजेट कार्यान्वयनमा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न ऊर्जा मन्त्रीको निर्देशन
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना तयार गरी तत्काल कार्यान्वयनमा जुट्न निर्देशन दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताए । उनले आयोजनाको कार्यान्वयन नेतृत्व भने प्राधिकरण व्यवस्थापनले नै लिनुपर्ने धारणा व्यक्त गरे ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रसारण लाइन, सबस्टेशनलगायत विद्युत् पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले तोकिएको समयमै आयोजना सम्पन्न हुने गरी विस्तृत कार्ययोजना तयार गर्न र मातहतका निकायलाई परिचालन गर्न सुझाव दिए ।
उनले प्राधिकरणका अधिकारीहरूलाई आफ्नो लामो अनुभव, दक्षता र क्षमताको अधिकतम उपयोग गर्न आग्रह गर्दै समस्याको पहिचानमा मात्र सीमित नभई समाधानका ठोस प्रस्तावसमेत व्यवस्थापन तहबाट आउनुपर्ने आवश्यकता औंल्याए ।
“यसपटक प्राधिकरणले माग गरेअनुसारको बजेट प्राप्त गरेको छ। अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा गुणस्तरीय र दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,” मन्त्री श्रेष्ठले भने ।
उनले प्राधिकरणले सामाजिक उत्तरदायित्वसँगै प्रतिफलमुखी लगानीमा पनि ध्यान दिनुपर्ने बताउँदै आगामी वर्षहरूका लागि प्राथमिकता प्राप्त आयोजनाबारे स्पष्ट निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले विद्युत् महसुल बक्यौता असुलीलाई प्राधिकरणको नियमित कार्यसूचीका रूपमा अघि बढाउन सुझाव दिए । विषयको निरन्तर अनुगमन गर्दै निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिँदै उनले संस्थागत सुशासन सुदृढ गर्ने, कार्यसम्पादनलाई परिणाममुखी बनाउने तथा प्राथमिकताका आयोजना छनोट गरी अघि बढ्न उपकार्यकारी निर्देशकहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
“विगतमा के भयो वा किन भएन भन्ने बहसभन्दा अब कसरी अघि बढ्ने भन्ने विषयमा मेरो ध्यान केन्द्रित छ,” मन्त्री श्रेष्ठले भने ।
छलफलमा उपकार्यकारी निर्देशकहरूले आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गतका आयोजना तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। उनीहरूले बजेट कार्यान्वयनलाई व्यवस्थित बनाउन आगामी असार १५ गतेभित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेश गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मेगावाट होइन, ऊर्जा खपतबाट समृद्धि मापन गर्ने युगमा नेपाल प्रवेश गर्नुपर्छ : सांसद न्यौपाने
-
नेप्से घटे पनि कारोबार रकम भने ५ अर्ब ६२ करोड नाघ्यो
-
इप्पानको संस्थागत एकता जोगाउन मोहन डाँगी र गोरे शेर्पाको सर्वसम्मत प्रयासमा जोड र खुला प्रतिस्पर्धा
-
सेबोनको आईपीओ पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए, २ अर्ब ७८ करोडभन्दा बढीको शेयर निष्कासन तयारी
-
विद्युत् नियमन आयोगमा नेतृत्व दौड सुरु : पूर्वसचिवदेखि ऊर्जा विज्ञसम्म अध्यक्ष र सदस्य पदमा दाबेदारी, को-को हुन् प्रतिस्पर्धी ?
-
उपत्यकाका झण्डै एक सय स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने