जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर
जलसरोकार
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमान मन्त्री तथा प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार जेन–जी शहीद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन प्राप्त भएको थियो । निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्ति दिने निर्णय गरिएको छ ।
सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यले दिएका निवेदनका आधारमा रोजगारी दिने निर्णय भएको बोर्ड अध्यक्ष घिसिङले जानकारी दिए ।
उक्त कार्यविधिअनुसार जेन–जी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्ति वा उनका नजिकका परिवारका सदस्य तथा शहीद परिवारका सदस्यलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्ने प्रावधान छ । शिक्षा सम्बन्धी व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारीसम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ऊर्जा, शहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मिलाइने व्यवस्था रहेको छ ।
जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा