वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान
जलसरोकार
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो ।
स्थानीय किसान परमानन्द जोशीले सिँचाइ सुविधा पुगेपछि उत्पादन बढ्ने अपेक्षा व्यक्त गरे। “पहिले सिँचाइ अभाव हुँदा मेहनतअनुसार उब्जनी हुँदैनथ्यो, अब डिप बोरिङ जडान भएपछि सहज भएको छ,” उनले भने ।
किसानहरूको लामो समयदेखिको समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारको पहलमा २५ लाख रुपैयाँभन्दा बढीको लागतमा डिप ट्युबवेल जडान गरिएको हो । उक्त योजना प्रदेश सरकारको बजेटमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो ।
वडाध्यक्ष लालबहादुर ऐरका अनुसार ट्युबवेल सञ्चालनमा आएपछि ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइको समस्या समाधान भएसँगै बाँझो जस्तै रहेका जमिनमा अन्नबाली, तरकारी तथा नगदे बाली विस्तार हुने अपेक्षा गरिएको छ ।
स्थानीय किसान हरिकृष्ण चौधरीले सिँचाइ सहज भएपछि व्यावसायिक खेतीतर्फ आकर्षण बढेको बताए । “पहिले पानीको अभावले थोरै जमिनमा मात्रै खेती गर्न सकिन्थ्यो, अब विस्तार गर्ने योजना छ,” उनले भने।
डिप ट्युबवेलबाट करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ । यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ ।
यद्यपि, पानी वितरणका लागि आवश्यक पाइपलाइन विस्तार अझै बाँकी रहेको स्थानीयको भनाइ छ । किसानहरूले आगामी बजेटमा आवश्यक पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार