गण्डक नहरमा सरसफाइ अभियान तीव्र, अतिक्रमणले व्यवस्थापनमा चुनौती
जलसरोकार
पर्सा: नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र बनाएको छ ।
चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर क्षेत्रमा सरसफाइ तथा मर्मतसम्भारको काम अघि बढाएको छ ।
कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार साँघुरिँदै गएको थियो । “मुख्य नहरमा कार्यालयकै उपकरण र जनशक्ति परिचालन गरेर सरसफाइ गरेका छौं,” उनले भने,“नहर वरपर स्थानीयले गरेको अतिक्रमणका कारण सरसफाइपछि निकालिएको फोहोर व्यवस्थापनमा भने चुनौती देखिएको छ ।”
नहर आसपासको जग्गा अतिक्रमण हुँदा नहरबाट निकालिने माटो, बालुवा तथा झारपात व्यवस्थापन गर्न कठिनाइ भएको कार्यालयले जनाएको छ । स्थानीयले नहर किनारमा घरटहरा, माछापोखरीलगायत संरचना निर्माण गरेकाले सरसफाइपछि निस्कने सामग्री व्यवस्थापनमा समस्या भइरहेको प्रमुख पटेलले बताए ।
गण्डक नहर क्षेत्रमा करिब २५ देखि ३० स्थानमा अतिक्रमण देखिएको र त्यसको समाधानका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
यसैगरी शाखा नहरतर्फ पाँच खण्डमा विभाजन गरी ७५ किलोमिटर क्षेत्रमा सरसफाइ गर्ने योजना अघि बढाइएको छ । प्रत्येक खण्डमा १५ किलोमिटरका दरले काम गर्ने गरी करिब ४५ लाख रुपैयाँमा ठेक्का प्रक्रिया स्वीकृत भएको कार्यालयले जनाएको छ ।
करिब ५० वर्ष पुरानो गण्डक नहर संरचनाको नियमित मर्मतसम्भार आवश्यक रहेको पनि कार्यालयले जनाएको छ ।
नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ मा गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्बन्धी सम्झौता भएपछि भारत सरकारले नारायणी नदीमा ब्यारेज निर्माण गरेको थियो। सोही संरचनाबाट नेपालतर्फ करिब २८ हजार हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पुगेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार