काठमाडौं - साहस ऊर्जाले दुई अर्ब रुपैयाँमा विद्युत् उत्पादन अनुमति पत्र (लाइसेन्स) नै खरिद–बिक्रीसम्बन्धी गरेको सम्झौतामा टड्कारो रुपमा कानुनी प्रश्न उठेको छ । यसको वैधानिकतामा प्रश्न उठेकाले साहस ऊर्जाका हजारौं लगानीकर्ताहरुको लगानी पनि जोखिममा पर्ने भएको छ । लाइसेन्स खरिद बिक्रीसम्बन्धी सम्झौतामा कानुनी विवादमा पर्नुको मुख्य दुईवटा कारणहरु छन् । पहिलो, यसको लाइसेन्सबाहक टाइम्स इनर्जीको सञ्चालक समितिबाट पारित नै नगराईकन एकल सदस्य दीपक मल्होत्राले साहस ऊर्जासँग सम्झौता गरेका छन् । दोस्रो, टाइम्स इनर्जीले २०७६ सालमा चिनियाँ कम्पनी सुइफा ग्रुपसँग आयोजना विकास तथा निर्माणसम्बन्धी गरेको सम्झौता अद्यापि जीवित छ ।
सयौंको संख्यामा लाइसेन्स किनबेच भइरहे पनि कुनै पनि खरिदकर्ता वा बिक्रेताले अहिलेसम्म लाइसेन्स नै खरिद बिक्री गरेको सम्झौता बाहिर ल्याएका थिएनन् । स्रोतका अनुसार यो सम्झौतालाई सार्वजनिक गर्नुको पछाडि दुईवटा मुख्य कारण छन् । पहिलो, साहस ऊर्जाले दुई वर्षदेखि वार्षिक साधारण सभा गर्न सकिरहेको छैन । विगत दस वर्षदेखि हजारौं मानिस र सहकारीहरुबाट पैसा उठाएर एक पैसा पनि लाभांश दिन नसकेका कारण सञ्चालकहरुले साधारण सभा गर्न सकेका छैनन् । अब दुई अर्ब रुपैयाँमा आकर्षक जलविद्युत् आयोजना खरिद गरेको देखाएर साहस ऊर्जाका शेयरधनीहरुको आँखामा छारो हाल्न सजिलो भएको छ ।
दोस्रो, साहस ऊर्जाले विगतमा पनि अनधिकृत तवरमा सहकारी र आम सर्वसाधारणबाट अर्बाैं रुपैयाँ उठाएको थियो— सोलुखोला (८६ मेगावाट) लाई देखाएर । अहिले माथिल्लो तामाकोसी (४५६ मेगावाट) पछि सबैभन्दा आकर्षक देखिएको बूढीगण्डकी अर्धजलाशययुक्त (३४१ मेगावाट) को लाइसेन्स खरिद गरेको देखाइएर अर्बाैं रुपैयाँ सर्वसाधरणबाट उठाउने दाउ रहेको छ ।
टाइम्स इनर्जीमा तीनजना सञ्चालक छन् । तीमध्ये अध्यक्ष मल्होत्राबाहेक एकजना भारतीय विमल सावरिया र अर्का सीएम बास्कोटा छन् । भारतीय नागरिक सावरियाले नेपाली नागरिकताको प्रमाणपत्र धारण गरेकी निजकी श्रीमती मीना अग्रवाललाई कम्पनीको सञ्चालक बनाएका छन् ।
मल्होत्राले साहस ऊर्जाका प्रबन्ध निर्देशक सुशील थापासँग लाइसेन्स खरिद बिक्रीसम्बन्धी सम्झौता गर्दा टाइम्स इनर्जीको सञ्चालक समितिबाट लाइसेन्स बिक्री गर्ने कुनै निर्णय नगरेको कम्पनी स्रोतले जानकारी दियो । गत पुस २९ गते उक्त सम्झौता हुँदा भारतीय नागरिक नेपालमा नरहेको र अर्का सञ्चालक समितिका सदस्य उपत्यकामै थिएनन् ।
गोरखा जिल्लाको चुमनुग्री गाउँपालिकामा पर्ने यो आयोजना आर्थिक र प्राविधिक रुपले अत्यन्त आकर्षक देखिएकाले चिनियाँ कम्पनी सुइफा ग्रुप र टाइम्स इनर्जीबीच कोभिड १९ लगत्तै विकास तथा लगानीसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार चिनियाँ कम्पनीले थप अध्ययन गरी आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) र उत्पादन अनुमति पत्र (जेनेरेसन लाइसेन्स) लिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले अर्धजलाशययुक्त आयोजना अन्तर्गत यसको पीपीए गरिसकेको छ भने उक्त पीपीए अनुमोदन हुन विद्युत् नियमन आयोगमा पठाइएको छ । केही दिनअघि मात्र यो आयोजनाको उत्पादन अनुमति पत्र जारी भएको थियो ।
सञ्चालक समितिबाट पारित नगरीकन र चिनियाँसँग गरेको सम्झौता जीवित रहेकै बेला मल्होत्रा एक्लैले बिक्री गर्न हस्ताक्षर गर्नुको कारण उनको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ठूलो आकारको ऋण रहेको मुख्य कारण हो । कोभिड–१९ पछि सुस्ताएको अर्थतन्त्रका कारण व्यापारी मल्होत्रा ऋणमा डुबेका छन् ।
साहस ऊर्जाले दुई अर्ब रुपैयाँमा खरिद गर्न गरेको सम्झौतालाई सार्वजनिक गरेका कारण अब टाइम्स इनर्जीले उक्त रकम बराबरको लाभकर पनि तिर्नुपर्ने भएको छ । कम्पनीमा हालसम्म लेखापरीक्षणबाट जनिएको खर्च २० करोड रुपैयाँ रहेको अदृश्य खर्चसमेत गरी हालसम्म ५० करोड रुपैयाँ खर्च भएको कम्पनी स्रोतले बतायो । यो आयोजनाको लाइसेन्स बास्कोटाले २०६८ सालमा लिएका थिए । त्यतिखेर आयोजनाको जडित क्षमता २५४ मेगावाट थियो । बास्कोटाले यो आयोजनामा भारतीय कम्पनी मोजरबेयर भित्र्याए । उक्त कम्पनीले बूढीगण्डकीको दायाँ किनार (राइट ब्यांक) बाट पुनः अध्ययन गराए— भौगार्भिक कारण । अध्ययनले आयोजना अति नै आकर्षक देखियो ।
भारतमा भारतीय जनता पार्टीको सरकार पहिलोपटक आएपछि उक्त कम्पनी टाट पल्टियो । मोजरबेयर बाहिरियो । तर सरकारले आयोजनाको लाइसेन्स रद्द गरिदियो । त्यसविरुद्ध साविकको पुनरावेदन अदालत र सर्वाेच्च अदालतमा पाँच वर्ष मुद्दा लडी कम्पनीको पक्षमा फैसला भयो । अदालतको आदेशबाट लाइसेन्स पुनः जीवित भएपछि कम्पनीमा मल्होत्रा आए । मल्होत्रा आएसँगै आयोजनाको अध्ययन पुनः भयो र २५४ मेगावाटकाे अर्थजलाशययुक्त ३४१ मेगावाट जडित क्षमता भयो । मल्होत्रा प्रवेश गरेर अध्ययन गर्दैगर्द चिनियाँ कम्पनी सुइफा ग्रुपसँग यो आयोजना निर्माण गर्ने सम्झौता भएको हो ।
आयोजनाको अनुमानित लागत ६५ अर्ब रुपैयाँ छ । यसको उत्पादन अनुमति पत्र जारी हुँदा कम्पनी वा सञ्चालकले कुल स्वँपुँजीको २५ प्रतिशत रकम देखाउनुपर्छ । यो भनेको करिब १७ अर्ब रुपैयाँ हुन आउँछ । कम्पनी निर्माणको ढाँचा ७५ प्रतिशत बैंक ऋण र २५ प्रतिशत स्वपुँजी छ । कम्पनीको शेयर हस्तान्तरण हुँदा ‘शेयर पर्चेज एग्रिमेन्ट’ (एसपीए) गरेर साहस ऊर्जा कम्पनी वा यसका सञ्चालकहरुले १७ अर्ब रुपैयाँको स्वपुँजी देखाउनुपर्ने छ । यति ठूलो रकमको वैधानिक स्रोत देखाउन पनि उत्तिकै चुनौतीपूर्ण छ ।
यसबाहेक दुई अर्ब रुपैयाँमा किन्नेले उक्त रकमको वैधानिक स्रोत पनि देखाउनुपर्ने भएको छ । किन्नेले पनि उक्त रकम कहाँबाट ल्याएको देखाउनुपर्नेछ । यस सम्बन्धमा साहस ऊर्जाका अध्यक्ष हिम पाठकले टाइम्स इनर्जीको बहुमत सञ्चालक सदस्यले लेखेर दिएको दाबी गरे । उनले अर्का सञ्चालक मीना अग्रवाल लाइसेन्स खरिद बिक्रीको कागजमा साक्षी बसेको बताए । तर स्रोतका अनुसार उक्त सम्झौता भएको दिन मल्होत्राबाहेक अन्य सञ्चालकहरु काठमाडौंमै थिएनन् ।
पाठकले चिनियाँ कम्पनीसँग सम्झौता भएको विषयले आफूहरुले गरेको सम्झौतालाई कुनै असर नपर्ने पनि दाबी गरे । ‘उहाँहरु (टाइम्स इनर्जी) ले हामीलाई सबै क्लियर गरेर दिनुपर्नेछ’ पाठकले सोमबार जलसरोकारसँग भने, ‘त्यो उहाँहरुको आन्तरिक विषय हो ।’ पाठकले सम्झौता गर्दा मल्होत्राको खातामा २५ करोड रुपैयाँ दिएको स्वीकार गरे । अध्यक्ष पाठकले दुई वर्षदेखि साहस ऊर्जाको वार्षिक साधारण सभा हुन नसकेको स्वीकार गरे । ‘बत्ती बालेपछि गर्ने भनेका थियौं, विविध प्राविधिक कारणवश हुन सकेन, अब गर्छाैं,’ उनले भने ।
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का