पाँच वर्षदेखि अलपत्र सुनकोशी नदीमा निर्माणाधीन पुल, स्थानीयवासी सास्तीमा
जलसरोकार
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लालाई जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ। निर्माणमा लापरबाही देखाउँदै आएको कम्पनीको कारण भुम्लु गाउँपालिकाका हजारौँ नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।
सिन्धुपाल्चोकको चेहेरे र काभ्रेको सापिङ बस्तीलाई सडक सञ्जालसँग जोड्न विसं २०७७ भदौ १० गते सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच ११ करोड ७ लाख ४२ हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार विसं २०८० जेठ २ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि निर्माण कम्पनीले विभिन्न बाहाना बनाउँदै काममा आलटाल गरिरहेको स्थानीयको गुनासो छ ।
पुल सेक्टर कार्यालयका इञ्जिनीयर निरोज महर्जनका अनुसार ठेकेदार कम्पनी सम्पर्कमा समेत नरहेको र मौखिक तथा लिखित रूपमा पटक–पटक आग्रह गर्दा पनि अटेर गरिरहेको जानकारी दिए । विभागीय निर्णयअनुसार थप २३ महिना २५ दिनको म्याद दिइए पनि उक्त म्याद पनि २०८१ जेठ ९ गते सकिएको छ ।
हालसम्म पुलको केवल तीन वटा पिल्लर र काभ्रेपलाञ्चोकतर्फ एक स्पान मात्र निर्माण सम्पन्न भएको छ । बाढीबाट पुल जोगाउनका लागि आवश्यक नदी तटबन्धनको काम समेत नगरेको इञ्जिनीयर महर्जनले जानकारी दिए ।
भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठले पुल नबन्दा स्थानीयले करिब १५ किमी लामो घुमाउरो बाटो हुँदै दोलालघाट–टार मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। “पुल बनेको भए चार किलोमिटरमै पुग्न सकिन्थ्यो,” उनले भने, “तर अब पुल बेवारिसे बनेको छ। अब वैकल्पिक विकल्प खोज्नुपर्छ।”
स्थानीय जनप्रतिनिधिहरूले अब सडक विभाग र निर्माण कम्पनीसँग छलफल गरी समस्याको समाधान खोज्ने बताएका छन् । पाँच वर्ष बितिसक्दासमेत अधूरो पुलले विकास निर्माणमा देखिएको कमजोरी र अनुगमनको अभाव उजागर गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो