जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

स्वच्छ ऊर्जाबाट दीगो सिँचाईं प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

जलसरोकार
शुक्रबार, वैशाख ०७, २०८१ | १६:४९:३८ बजे

 

काठमाडौ- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (आईडब्लूएमआई) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा आगामी सोमबारदेखि शुक्रबारसम्म नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिको लागि दीगो सिंचाईंसम्बन्धी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

आगामी हप्ता आयोजना गर्न लागिएको मुख्य तीन कार्यक्रमहरुमा 
केन्द्रले आज एक विज्ञप्ति जारी गरी सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान-नीति संवाद, हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग वृद्धि सम्बन्धी क्षेत्रीय सम्मेलनु र ‘सामाजिक रुपमा समावेशी सौर्य सिंचाइ प्रणाली’ सम्बन्धी अन्तराष्ट्रिय विज्ञान नीति सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । 
यी तीनवटा सम्मेलनहरु जलवायु-उत्थानशील सिंचाइ मार्फत दीगो कृषिको लागि रुपान्तरणकारी विकल्पको रूपमा नवीकरणीय ऊर्जाको भूमिकाको विषयमा केन्द्रित रहने विज्ञप्तिमा छ ।
यही वैशाख १० गते सौर्य ‘सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद’  को मुख्य उद्देश्य समावेशी, स्तरोन्नति तथा दिगोपनामा आधारित सौर्य सिंचाइ प्रणाली विकाससम्बन्धी विज्ञान–नीति संवादमा नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू, निजी क्षेत्र, विकास साझेदारहरू, नागरिक समाज र अन्य प्रमुख सरोकारवालाहरुलाई एकसाथ संलग्न गराउने रहेको छ ।
त्यसैगरी सम्मेलनका अन्य उद्देश्यहरुमा सौर्य सिँचाईंसम्बन्धी नेपालको ज्ञान तथा अनुभव आदानप्रदान, प्रमुख सरोकारवालाहरूबीच नीतिगत संवादलाई प्रोत्साहन र नेपालको सौर्य सिँचाइ क्षेत्रमा भविष्यमा गर्नुपर्ने अनुसन्धान तथा अवसरहरूको पहिचान गर्नु रहेको छ।
सम्मेलनले नेपालमा सौर्य सिँचाइ प्रणालीको प्रवर्द्धनमा वृद्धि गरी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन, सौर्य सिँचाइ कार्यान्वयनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन जस्ता विषयहरुमा जोड दिंदै सौर्य सिँचाइ कार्यक्रमको दिगोपन र उत्थानशीलतामा सघाउ पुर्‍याउने केन्द्रले जनाएको छ । 
सौर्य सिंचाइ पम्प पानी, ऊर्जा र खाद्य जस्ता आधारभूत आवश्यकताबाट असुरक्षित साना कृषकहरु (विशेष गरी महिलाहरु) मा खाद्य र पोषण सुरक्षामा सुधार ल्याउने कार्यमा सघाउ पुर्‍याउने एक रुपान्तरणकारी नवीकरणीय ऊर्जा प्रविधि हो ।
आईडब्लूएमआई नेपाल प्रतिनिधि डा. मनोहरा खड्काले स्वच्छ ऊर्जा एवं सौर्य सिँचाइको क्षेत्रमा महिलाहरुसँग सम्बन्धी एजेन्सी तथा महिलाहरुमा रहेको ज्ञान र क्षमतालाई कम आंकलन गर्ने वर्तमान परिवेशमा यस प्रविधिले सिंचाइ र कृषि प्रणालीको विद्यमान असमान शक्ति सम्बन्धलाई सुदृढ बनाउन सघाउ पुर्‍याउने बताइन् ।
त्यसैगरी आगामी वैशाख ११ गते आयोजना गरिने क्षेत्रीय सम्मेलनले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशहरुबाट प्रतिनिधित्व गर्ने नीति निर्माता, विज्ञ, व्यवसायी र सरोकारवालाहरूलाई एकसाथ सहभागी गराइ कृषि क्षेत्रमा उत्पादनमुलक उपयोगको लागि नवीकरणीय ऊर्जाको सम्भावनाबारे स्पष्ट दिशानिर्देश गर्नेछ । 

यस पहलले सौर्य सिंचाइ सम्बन्धी साझा सवालहरुलाई कार्यान्वयनयोग्य नीति निर्माणको लागि सिफारिस गर्न र यस क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रवर्द्धनलाई प्रोत्साहित गर्न सघाउ पुग्नेछ। 
इसिमोडका ऊर्जा विज्ञ अभिषेक मल्लले  स्वच्छ ऊर्जाको रुपान्तरणले अन्य क्षेत्रहरूमा धेरै फड्को मारे तापनि कृषि क्षेत्रलाई रूपान्तरण गर्न यसको क्षमताको उपयोग नसकेको बताए । उनले नेपालको कुल गार्हस्थ उत्पादनको एक तिहाइ हिस्सा ओगट्ने र देशको दुई तिहाइ जनसंख्यालाई रोजगारी दिने कृषि क्षेत्रमा केन्द्रित हुनु महत्त्वपूर्ण रहेको बताए ।

आगामी वैशाख १२ गते आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनमा  कृषिमा सौर्य ऊर्जाको प्रभावकारी र दिगो प्रयोगको बारेमा विश्वव्यापी महत्वाकांक्षाको मापन, विश्वभरका र दक्षिण एसियामा कृषिमा सौर्य ऊर्जा प्रयोगको बढ्दो प्रभाव र प्रमाणहरूबारे छलफल गर्न,  करिब १५० प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने केन्द्रले जनाएको छ । 
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जाले वातावरणीय चुनौतिहरूबाट उत्पन्न समस्याहरूको सामना गर्न र हिमाली, पहाडी तथा तराइ क्षेत्रमा कृषि उत्पादकत्व वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले केन्द्र र इसिमोडले तयार गरेको ‘नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग प्लेटफर्म’ अनुसार नेपालमा हालको सिंचाइ मागलाई सम्बोधन गर्न ८०० देखि १,३०० मेगावाट बराबरको नवीकरणीय ऊर्जाको आवश्यकता रहेको बताए ।

कृषिमा जलवायु परिवर्तनको असर
जलवायु परिवर्तन विश्वव्यापी रूपमा र खास गरी अति कम विकसित र विकासशील देशहरुको लागि एक प्रमुख चुनौतीको रुपमा रहेको छ । उक्त देशहरूले जलवायु तत्परताको अभावमा जलवायु परिवर्तनबाट सिर्जित असरको सामना गरिरहेका छन् र उच्च जोखिममा समेत रहेको देखिन्छ। 
मौसम र जलवायु परिस्थितिमा निर्भरताका कारण विशेष गरी कृषि क्षेत्र बढी जोखिममा रहेको छ । जलवायु परिवर्तनले कृषि उत्पादन, पशुपालन, माटो र जलस्रोतलाई असर गर्छ र फलस्वरूप खाद्यान्न र जीविकोपार्जनको सुरक्षालाई असर गर्छ। साथै कृषि क्षेत्र प्रत्यक्ष (सिँचाइको लागि डिजेलको प्रयोग) र अप्रत्यक्ष (कृषि विस्तारको कारण भूउपयोगमा आएको परिवर्तन मार्फत) दुवै रुपमा हरितगृह ग्यास उत्सर्जनको एक प्रमुख स्रोतको रुपमा समेत रहेको पाइन्छ।
पहाडी क्षेत्रहरूमा जटिल भू-भागका कारण कृषि र सिँचाइले प्रमुख चुनौतीहरूको सामना गर्नु परिरहेको छ र यो चुनौति जलवायु परिवर्तनका प्रभावहरूले अझ बढ्दै गएको छ। 
नेपालको ६०५ खेतीयोग्य जमिनमा सिँचाइको अभाव रहेको छ जसमध्ये ४०५ जमिन पहाडमा छ । तसर्थ पहाडी भूभाग कृषि उत्पादन र खाद्य सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसै सन्दर्भमा सौर्य ऊर्जा  विशेष गरी सौर्य सिंचाई पम्प विद्युत आपूर्ति नियमित नहुने तथा  महँगो एवं उच्च हरित गृह ग्यास उत्सर्जन गर्ने खनिज इन्धनको भरपर्दो विकल्पको रुपमा रहेको छ । 
जीविकोपार्जन र कृषि-खाद्य प्रणालीको रूपान्तरण तथा जलवायु-उत्थानशील सिँचाइमा महिला र सीमान्तकृत समूहहरूमा प्रत्यक्ष लाभ पुर्‍याउनको लागि सौर्य सिंचाइ प्रणालीको सम्भाव्यता रहेको छ र सो सम्भाव्यता झल्काउने  यथेष्ट प्रमाणहरु समेत देखिंदै आएका छन् । 
सौर्य सिंचाइ प्रणाली प्रयोग गरेका समुदायहरूले कृषि उत्पादकत्व वृद्धि हुनुको साथै आयस्तर समेत बढेको बताएका छन् । निरन्तर र भरपर्दो सिंचाइ सुविधाको कारणले कृषकहरूको कृषि उत्पादनमा विविधीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न तथा आर्थिक अवस्था माथि उकास्न सघाउ पुर्‍याउन सघाउ पुर्‍याएको छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको उल्लेख्य योगदान (करीब २४५) भए तापनि यस क्षेत्रमा ऊर्जा खपतको हिस्सा न्यून रहेको छ जसले गर्दा परम्परागत खेतीको अभ्यास तथा आधुनिक प्रविधिको विकास र उपयोगबीच ठूलो अन्तर रहेको पाइन्छ। 
परम्परागत सिँचाइ प्रविधिहरूमा निर्भरता, सिमित ऊर्जा पहुँच जस्ता कारणहरुले कृषिमा चुनौतीहरु बढ्नुको साथै हिमाली समुदायहरूलाई जलवायु अनिश्चिततातर्फ धकेलिरहेको देखिन्छ। कृषि उत्पादकत्व वृद्धि गर्न, खाद्य मागहरू पूरा गर्न र जलवायु परिवर्तनको सामना गर्न यस्ता समस्याहरुलाई सम्बोधन गर्नु अति आवश्यक देखिएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, वैशाख ०७, २०८१ | १६:४९:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया