धाप्लाङघाट पुल निर्माणले गति लियो, दक्षिणी क्षेत्रका नागरिकमा आशा
जलसरोकार
खोटाङ : खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले पछिल्लो समय तीव्रता लिएको छ । ठेकेदारको लापरवाहीका कारण लामो समय अलपत्र परेको पुल निर्माण अघि बढ्न थालेपछि दक्षिणी भेगका नागरिकमा आशा जागेको छ ।
बराहापोखरी गाउँपालिका–२ सुन्तले (खोटाङ) र त्रियुगा नगरपालिका–१४ साउने (उदयपुर) जोड्ने २०० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। २०७६ सालमै सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारको लापरवाहीका कारण नौ वर्षसम्म पुल निर्माण अलपत्र परेको थियो ।
२०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको उक्त पुलमा अहिले स्ल्याब ढलानको काम सुरु भएको छ । खोटाङ प्रदेशसभा (२) का सदस्य तथा कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको निरन्तर खबरदारीपछि निर्माण कार्यले गति लिएको स्थानीयवासीको भनाइ छ ।
संघीय सरकारको करिब रु २१ करोड ६५ लाख लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले पुल निर्माणको जिम्मा लिएको थियो। काम अलपत्र परेपछि लिड कम्पनी स्वच्छन्द निर्माणलाई कालोसूचीमा राखेर धरौटी तानिएको र त्यसपछि रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य अघि बढाएको हो ।
निवर्तमान मन्त्री राईका अनुसार पुलमा पाँचवटा स्ल्याब रहनेछन्, जसमध्ये एउटा ढलान भइसकेको छ । “यस वर्ष कम्तीमा तीनवटा स्ल्याब ढलान सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको छ,” उनले भने,“पुल सञ्चालनमा आएपछि खोटाङको समृद्धिको यात्रा सुरु हुन्छ ।”
पछिल्लो थपिएको म्यादअनुसार २०८४ जेठ १९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनीका अनुसार २०८३ चैतभित्र सवारीसाधन वारपार गराउने लक्ष्यका साथ काम भइरहेको छ । हालसम्म पुल निर्माणको करिब ४३ प्रतिशत काम सकिएको छ ।
सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार सुरुमा वेल फाउन्डेसन प्रविधिबाट पुल निर्माण गर्ने योजना थियो। सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरी पाइल फाउन्डेसन प्रविधि अपनाइएको छ । पुलका लागि छवटा पिलर बनाउनुपर्नेमा चारवटा निर्माण भए पनि बाढीले एउटा पिलर बङ्ग्याएपछि पुनः निर्माण गर्नुपर्ने अवस्था आएको छ।
धाप्लाङघाटमा पक्की पुल नहुँदा ठूला सवारीसाधन सञ्चालन हुन सकेको छैन । मोटरसाइकल भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरिएको छ । पुल नहुँदा ढुवानी महँगो हुनुका साथै स्थानीय उत्पादन बाहिर पठाउन कठिन भएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जराले बताए ।
“पुल निर्माणले गति लिएसँगै केही आशा जागेको छ, तर निरन्तर खबरदारी आवश्यक छ,” उनले भने, ।
पुल निर्माण सम्पन्न भएपछि खोटाङका बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका र भोजपुरका केही क्षेत्रका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। निर्माण पूरा नभएसम्मका लागि अस्थायी बेलिब्रिज जडानको काम पनि सुरु गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादन बढाएर समृद्ध नेपाल बनाइन्छ : अध्यक्ष घिसिङ
-
सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादा अपनाउनुहाेस् : विद्युत प्राधिकरण
-
भाषण गर्ने होइन, काम गर्न सक्ने नेतृत्वलाई जिताएर एक पटक मौका दिनुहोस् : अध्यक्ष घिसिङ
-
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि खुल्दै
-
छ महिनामा ३ अर्ब २७ करोडभन्दा बढी राजस्व सङ्कलन