वैकल्पिक शक्तिहरू एक हुनैपर्छ, सके एकता नसके कार्यगत एकता : कुलमान घिसिङ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले देशका सबै वैकल्पिक शक्तिहरू एक भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । सकेसम्म पूर्ण एकता र त्यो सम्भव नभए कार्यगत एकता गरेर भए पनि अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका मन्त्री घिसिङले आइतबार बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त नेतृत्व र वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । “उक्त नेतृत्वहरू, वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ,” उनले भने, “त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरू एक भएर जान म आह्वान गर्छु ।”
नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरू एक भएर नयाँ नेतृत्व दिनु रहेको घिसिङको भनाइ छ । “आजको दिन नेपाली जनताको चाहना सबै वैकल्पिक शक्तिहरू एक होऊन्, अगाडि बढून् र नयाँ नेतृत्व दिऊन् भन्ने छ,” उनले भने, “यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति आएको हो । घिसिङले बालेन शाहसँग एकता तथा सहकार्यका लागि छलफल पनि अघि बढाएको बताइएको छ । यद्यपि, रवि र बालेनबीच सहमति हुँदा घिसिङ भने हाल प्रत्यक्ष रूपमा सो सहमतिबाट बाहिर रहनुभएको छ ।
घिसिङले उज्यालो नेपाल पार्टी आफ्नो सम्मान, आत्मसम्मान र स्वाभिमान नमेटाई सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा सकारात्मक नतिजा देखिने विश्वास व्यक्त गरे ।
“सम्मानजनक उपस्थिति, आत्मसम्मान र स्वाभिमानलाई नमेटाई सबैसँग सहकार्य गर्न हामी तयार छौँ,” घिसिङले भने, “यसतर्फ धेरै कुराहरू भइरहेको छन् र आगामी दिनमा यसको परिणाम देखिनेछ भन्नेमा म विश्वस्त छु ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
-
तरलता व्यवस्थापनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुग्यो