जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युत् प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड

जलसरोकार
शुक्रबार, साउन २५, २०८१ | १७:२२:२१ बजे

काठमाडौं : आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नु नपरेको प्राधिकरणका कार्यकारी निर्देशकले आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । 
उनका अनुसार आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउंदै प्राधिरणले सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । 
‘यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा बृद्धि नै भइरहेको छ,’ घिसिङले भने, ‘प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ ।’ 
त्यस्तै, सिंचाइका लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ । ‘यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायीत्वलाई पनि उत्तिकै जिम्मेवारीकासाथ पूरा गरिरहेको छ,’ उनले भने ।   


इक्रा नेपालले गरेको  क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ । 
‘यसरी, प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अङ्क मात्र होइन, यो त विद्युत विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविश्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ,’ घिसिङको भनाइ थियो, ‘आफ्नो पूँजीको तत्कालका लागि १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निश्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको छ ।’
विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको उनको भनाइ थियो । 
विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजिगत लगानी गर्न सक्षम भएको छ । साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । ‘यसबाट प्रष्ट छ संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिक रुपमा लगानीका लागि एउटा दह्रो स्रोत हो,’ घिसिङले भने । 


प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । 
प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ । 
देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ । 
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । 
नेपालले औपचारिक रुपमा विद्युत निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो ।  निर्यातको मात्रा बढ्दै गएर गत आ.व. मा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ । 


वर्षायाममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो     छ । तसर्थ, गत आ.व.मा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ । 
‘यसरी गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ जसले गर्दा आर्थिक वर्ष २०८०÷८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ,’ घिसिङले भने, ‘यो नेपालको जलविद्युत विकासका लागि कोशेढुङ्गो हो, महत्वपूर्ण प्रस्थान विन्दु हो ।’


उनका अनुसार नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुँदैछ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ । 
‘बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए तापनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौं,’ घिसिङले भने ।

 

प्रकाशित मिति : शुक्रबार, साउन २५, २०८१ | १७:२२:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया