चालु वर्षमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना सञ्चालनमा
जलसरोकार
काठमाडौं : म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालनमा ल्याइएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत ती योजना कार्यान्वयन आएका हुन् ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाका अनुसार यस वर्ष ३४ वटा खानेपानी, २९ वटा सिँचाइ, चार वटा नदी नियन्त्रण, विपद् व्यवस्थापनतर्फ चार र ऊर्जातर्फ दुई वटा योजना सञ्चालनमा छन् । तीमध्ये ४३ वटा योजनाको ठेक्का सम्झौता भइसकेको छ भने बाँकी योजना ठेक्का प्रक्रियामा रहेका छन् ।
“प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ,” ओझाले भन्नुभयो, “गत वर्ष सुरु भएका दुई वटा योजना यस वर्ष सम्पन्न भएका छन् ।” सङ्घीय विशेष अनुदानअन्तर्गत रत्नेचौर लिफ्ट खानेपानी योजना र मङ्गला गाउँपालिका–४ को बुकेनी सिँचाइ योजना निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
यस वर्ष सञ्चालनमा रहेका सबै योजनाका लागि पुँजीगततर्फ रु ११ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार सात र सर्वेक्षणसम्बन्धी चार वटा योजना छन् ।
नदी नियन्त्रणतर्फ रु एक करोड बजेट विनियोजन गरिएको पोखरेबगर, सिम, तातोपानी संरक्षण तथा ठाडोढुङ्गा पहिरो रोकथाम योजना कार्यान्वयनमा छन्। सिँचाइतर्फ ११ वटा स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र पाँच वटा मर्मतसम्भारसम्बन्धी योजना सञ्चालनमा रहेका छन् ।
कार्यालयका अनुसार यी योजनाबाट ग्रामीण भेगमा खानेपानी आपूर्ति सुधार, कृषि उत्पादन वृद्धि तथा बाढी–पहिरो जोखिम न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने