खानेपानी, सिँचाइ सुविधा विस्तार र नदी नियन्त्रण गर्न ६५ योजना
जलसरोकार
म्याग्दी,: म्याग्दीमा यसवर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले रू १४ करोड ३८ लाख ५० हजार बजेटमा खानेपानीका ३६, सिँचाइका २०, नदी नियन्त्रणका छ, ऊर्जाका दुई र सर्वेक्षणसम्बन्धी एक वटा योजना सञ्चालन गरेको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर झलकमोहन ओझाले २६ वटा योजनाको सम्झौता भइसकेको र ३८ वटा योजनाको लागत अनुमान तयार पारेर कार्यान्वयनको प्रक्रीयामा रहेका जानकारी दिए ।
“प्रदेश सरकारको नीतिअनुसार उपभोक्ताको प्रत्यक्ष सहभागिता हुन नसक्ने योजनालाई ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ”, उनले भने,“आर्थिक वर्षको छ महिनाको अवधिमा कूल बजेटको १८.१९ प्रतिशत वित्तीय र ४८ प्रतिशत भौतिक प्रगति भएको छ ।”
चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म पँुजीगततर्फ रू दुई करोड ५८ लाख १९ हजार बजेट खर्च भएको कार्यालय प्रमुख ओझाले बताए । सङ्घीय शसर्तका पाँच वटा खानेपानी योजनामा रू ५१ लाख र सङ्घीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी योजनाका लागि रू ६५ लाख बजेट प्राप्त भएको छ ।
प्रदेश सरकारका ३० वटा खानेपानी, २० वटा सिँचाइ, छ वटा नदी नियन्त्रण र ऊर्जाका दुई वटा योजनाका लागि रू १३ करोड ८७ लाख ८५ हजार बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । गत वर्ष रू १७ करोड ६५ लाख १० हजार पँुजीगत बजेट भएको कार्यालयले सञ्चाल गर्ने योजनामा यसपालि रू तीन करोड बजेट घटेको हो ।
बादुक, घोरेनी कोत्रवाङ, खोप्ती, सामतुङ सोता सिँचाइ र तातोपानी नदी नियन्त्रण योजना कार्यान्वयनका लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुने चरणमा रहेका केही योजनाका लागि बजेट अभाव भएकाले थप बजेटका लागि मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालय प्रमुख ओझाले बताए ।
कार्यालयमार्फत गत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको इञ्जिनियर शिवशङ्कर शाहले बताए । एक्काइस सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो ।
म्याग्दीका २८ हजार आठ सय ३० घरपरिवारमध्ये ९५ प्रतिशतमा खानेपानी, ९५ दशमलव एक प्रतिशतमा केन्द्रीय लाइन र लघुजलविद्युत् परियोजनाको बिजुली, १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये ३२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
-
तरलता व्यवस्थापनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुग्यो