काबेली बेसिनमा निर्माणाधीन ४७ मेगावाटका आयोजना ५ महिनामा प्रसारण प्रणालीमा आउँदै


काठमाडौं – ताप्लेजुङको काबेली बेसिनमा निजी लगानीमा निर्माणाधीन ४७.४३ मेगावाटका जलविद्युत आयोजना अबको ५ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएका छन् । एउटै समूहले विभिन्न प्रवद्र्धक कम्पनीमार्फत निर्माण भइरहेका ३ जलविद्युत आयोजना आगामी असोजभित्र प्रसारण प्रणालीमा आउने भएका हुन् ।
काबेली बेसिनमा निर्माणाधीन १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड र २१.९३ मेगावाटको काबेली–३ आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको प्रवद्र्धक मोहनबिक्रम कार्कीले बताए । सुपर काबेली खोला आयोजना स्नोरिभर्स लिमिटेड, सुपर काबेली खोला क्यासकेड हिल्टन हाइड्रो इनर्जी र काबेली–३ आयोजना काबेली हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेका छन् ।
उनका अनुसार सुपर काबेली क्यासकेड आयोजनाको मुख्य सुरुङ पूरा भई अहिले फिनिसिङको काम भइरहेको छ । ‘हामीले एक साथ ३ जलविद्युत आयोजनाको निर्माण गरिरहेका छौं,’ कार्कीले भने, ‘बर्खाको समयमा उपकरण ढुवानीमा कुनै अवरोध आएन भने सबै आयोजना असोजभित्र प्रसारण प्रणालीमा ल्याउने योजना अनुरुप काम गरिरहेका छौं ।’
उनले काबेली–३ आयोजनाको मुख्य सुरुङ खन्ने कार्य पनि अन्तिम चरणमा पुगेको बताए । यो आयोजनाको सुरुङ पूरा हुन अब १ सय मिटर मात्रै बाँकी छ । सुपर काबेली ‘ए’ आयोजनामा भने पाइपलाइन रहनेछ । अहिले सबै आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु हुन लागेको पनि कार्कीले जानकारी दिए । इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याउने काम भइरहेको छ ।
३ वटै आयोजना प्रतिमेगावाट साढे १९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्न लागिएको कार्कीले बताए । आयोजना स्थल मुख्य सडकदेखि ५४ किलोमिटरको दुरीमा पर्ने हुँदा आयोजनाको लागत यति पुग्ने अनुमान गरिएको उनको भनाइ छ । यसमा ३१ किलोमिटर लामो प्रसारण लाइनको लागत पनि जोडिएको छ ।
आयोजनाको ५४ किलामिटर पहुँच सडक मध्ये २५ किलो प्रवद्र्धक कम्पनीहरूमार्फत निर्माण गरिएको थियो ।
अरु सडक मर्मत गरेर सवारी साधन चलाइएको कार्कीले बताए । यी ३ वटै जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी काबेली करिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा लगेर जोडिनेछ । यी आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको ३१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । १३२ केभी प्रसारण लाइनको ९६ वटा टावर निर्माण गरी तार तान्ने काम भइरहेको छ । तार तान्ने काम अबको १० दिनभित्र सम्पन्न हुन लागेको कार्कीले बताए । कार्की संलग्न समूहले यसअघि पनि करिब आधा दर्जन जलविद्युत आयोजना निर्माण सम्पन्न गरी प्रसारण प्रणालीमा जोडिसकेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
-
बुधबार यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह
-
सिरहामा आधाभन्दा बढी डिप बोरिङ अझै सञ्चालनमा आएनन्
-
देशभर मनसुन कमजोर, तर वर्षाको सम्भावना कायम
-
सेयर बजारमा सबै सूचक हरियाली, कारोबार रकम घट्यो