जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढीले सिंचाईतर्फ १ अर्ब ३५ करोड रुपैयाँको क्षति

जलसरोकार
सोमबार, असोज १४, २०८१ | १५:३३:३० बजे

काठमाडौं : त्यस पनि बजेट कटौती र न्यून बजेट विनियोजनको मारमा परेर अपेक्षाअनुसार काम हुन नसकेको सिंचाई क्षेत्रमा गत असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँको क्षति भएको छ ।
सिंचाई सचिव सरिता दुवाडीले पूर्व मेचीदेखि पश्चिम राप्तिसम्म परेको अबिरल वर्षाका कारण सिंचाई प्रणाली, संरचना तथा तटबन्धहरुको क्षति भएको र प्रारम्भिक विवरणमा एक अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको बताइन् ।
उनले सिंचाई विभागले विभिन्न नदीका किनाराहरुमा तटबन्ध निर्माण भएकाले नदीजन्य बाढीको क्षति विगतको तुलनामा कम रहेको पनि उल्लेख गरिन् । हिजो मन्त्रालय आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव दवाडीले क्षतिका विवरणहरु संकलन भइरहेको र त्यसलाई अद्यावधिक गरी सार्वजनिक गरिने पनि बताइन् ।
जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सञ्जीव बरालले वर्षा तथा बाढीले सिंचाई र जलस्रोत क्षेत्रमा भएका क्षतिको विवरण उल्लेख गरे ।
उनका अनुसार सुनसरी मोरङ सिंचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरुको टेल स्केपमा सामान्य क्षति भएको छ । यसको अनुमानित क्षतिको लागत ५ करोड रुपैयाँ रहेको उनको भनाइ थियो ।
त्यसैगरी बागमती सिंचाई आयोजनामा पूर्वी मूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरुमा क्षति पुर्याएको र यसको अनुमानित क्षतिको लागत ५ करोड ४० लाख रुपैयाँ छ । 
झाँझ सिंचाइ आयोजना अन्तर्गतको नहरमा रु ३ करोड को अनुमानित क्षति भएको बरालले बताए । त्यसैगरी कोशी पम्प चन्द्र नहर आयोजनामा माहुली खोलाले क्षति गरेको र यसबाट ५० लाख अनुमानित क्षति रकम रहेको छ । 
कमला सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्याएको छ । घुर्मी  नदीमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्याएको र बताहा नदिमा रहेको साइफनमा क्षति पुर्याइ उच्च जोखिममा रहेको छ । अनुमानित क्षतिको लागत रु ५ करोड 
नारायणी सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत युरिया नदिले कट्टान गरी नहरमा सामान्य क्षति भएको छ । यसको अनुमानित क्षतिको लागत १० लाख रुपैयाँ छ ।
यता सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधीन कफर ड्याम डुवानमा परेको छ ।  रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको हुनाले ठूलो क्षति भई लागत अनुमान गर्न कठिन भएको सिंचाई विभागले जनाएको छ ।
त्यस्तै, महाकाली सिंचाई आयोजना, कन्चनपुर लगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको बाढीले ठूलो क्षति पुर्याई करिब १ अर्ब १४ करोडको क्षति पुर्याएको थियो ।
 

 

प्रकाशित मिति : सोमबार, असोज १४, २०८१ | १५:३३:३० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया