याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर
जलसरोकार
काठमाडौं, : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। जसमध्ये ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन्।
यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता (२ करोड १० लाख रुपैयाँ बराबर) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ११ गतेसम्म छिटो बन्द हुने र आवश्यक परे चैत २२ गतेसम्म लम्बिन सक्नेछ।
रेटिङतर्फ CARE Ratings Nepal ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण गरेको हो। आयोजनाको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ हाराहारी छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ। लगानी फिर्ता अवधि साधारणतर्फ १०.७६ वर्ष र छुट दर (डिस्काउन्ट)मा १९.८७ वर्ष अनुमान गरिएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक तथा कुमारी बैंकका सम्बन्धित शाखाबाट आवेदन दिन सक्नेछन् भने आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्वा प्रणाली तथा मेरो शेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ