याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ देखि आईपीओ निष्काशन गर्ने
जलसरोकार
काठमाडौँ : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आगामी चैत ८ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यको २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ। उक्त शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
त्यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबर २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २ करोड १० लाख रुपैयाँ बराबरको शेयर विदेशमा श्रम स्वीकृति प्राप्त गरी रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २२ गते बन्द हुनेछ भने माग अनुसार नपुगेमा ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ। परियोजनाको साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष रहेको छ भने छुट दरमा (डिस्काउन्ट) गणना गर्दा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै उनीहरूले आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन फाराम प्राप्त गर्नका लागि स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता