चियाबारी-खुर्कोट सुरुङ मार्ग अब विकल्प होइन, राष्ट्रिय अपरिहार्यता : भूगर्भविद् दाहाल
जलसरोकार
काठमाडौं : वीपी राजमार्ग अन्तर्गतको सिन्धुली बजार-खुर्कोट खण्डको दीर्घकालीन अस्थिरता समाधान गर्न चियाबारी-खुर्कोट सुरुङ मार्ग निर्माण अब विकल्प नभई राष्ट्रिय पूर्वाधारको अपरिहार्य आवश्यकता भइसकेको भूगर्भविद् रञ्जनकुमार दाहालले बताएका छन्।
फेसबुकमा सार्वजनिक गरेको विस्तृत विचारमा दाहालले हालको खुर्कोट-सिन्धुलीगढी उकालो खण्ड तीव्र मोड, ठाडो भिरालो, करिब ३० किलोमिटर प्रतिघण्टाको कम डिजाइन गति र बारम्बार हुने पहिरोका कारण काठमाडौं-पूर्वी तराई मात्र होइन, रामेछाप, दोलखा र सिन्धुली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा दीर्घकालीन अवरोध बनेको उल्लेख गरेका छन्।
उनका अनुसार प्रस्तावित करिब ५.५ किलोमिटर लामो दुई लेनको सुरुङ खुर्कोट नजिकबाट सुरु भई चियाबारी बस स्टप नजिक निस्कने गरी निर्माण गरिएमा भू-प्राविधिक रूपमा जोखिमयुक्त पहाडी क्षेत्रलाई पूर्ण रूपमा छल्न सकिनेछ। यसले यात्रा दूरी र समय उल्लेखनीय रूपमा घटाउनुका साथै वर्षैभरि भरपर्दो यातायात सुनिश्चित गर्ने दाबी गरिएको छ।
दाहालले सो सुरुङ खुर्कोटमै मध्यपहाडी (पुष्पलाल) राजमार्गसँग प्रत्यक्ष जोडिने भएकाले रणनीतिक सडकका रूपमा विकास गर्न सकिने बताएका छन्। यसबाट मध्यपहाडी राजमार्ग हुँदै आउने सवारी साधनलाई वीपी राजमार्गमार्फत तराईतर्फ छिटो, सुरक्षित र अवरोधरहित यात्रा सम्भव हुने र पूर्वी तराई-काठमाडौं सुदृढ यातायात सञ्जालमा जोडिने उनको भनाइ छ।

विशेषगरी रामेछाप जिल्लाका लागि तराईसँग प्रत्यक्ष, सुरक्षित र द्रुत सम्पर्क मार्ग स्थापित हुने, जसले धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ। साथै दूध, तरकारी, फलफूल र जडीबुटीजस्ता कृषि उत्पादन छिटो, सस्तो र न्यून क्षतिसहित तराईका बजारसम्म पुर्याउन सकिने सम्भावना औंल्याइएको छ।
भूगर्भीय दृष्टिले सुरुङ क्षेत्र मुख्यतया मेटास्यान्डस्टोन, सिष्ट र फिलाइट चट्टानबाट बनेको रहेको र उपयुक्त चट्टान वर्गीकरण, सपोर्ट प्रणाली तथा भूमिगत पानी निकास व्यवस्थासहित सुरुङ निर्माण प्राविधिक रूपमा सम्भव हुने दाहालको विश्लेषण छ। परियोजनामा पोर्टल १ तर्फ करिब २.५ किलोमिटर र पोर्टल २ तर्फ करिब ३.५ किलोमिटर पहुँच मार्ग समावेश गरेर निर्माण, सञ्चालन तथा आपतकालीन व्यवस्थापन सुनिश्चित गर्न सकिने उल्लेख गरिएको छ।
परियोजनाको अनुमानित लागत करिब २५ अर्ब रुपैयाँ भए पनि बहुवर्षीय राष्ट्रिय गौरव आयोजना बजेट, सडक मर्मत कोष, इन्धन पूर्वाधार कर तथा आन्तरिक ऋण संयोजनमार्फत चरणबद्ध रूपमा व्यवस्थापन गर्न सकिने भन्दै यसले वैदेशिक ऋण निर्भरता घटाउने तर्क प्रस्तुत गरिएको छ। सुरुङ सञ्चालनमा आएपछि टोल प्रणालीमार्फत लागत पुनःप्राप्ति गर्दै मर्मत, सुरक्षा र सञ्चालन खर्च धान्न सकिने बताइएको छ।
दीर्घकालीन रूपमा पहिरो नियन्त्रण खर्च न्यूनीकरण, दुर्घटना जोखिम घटाउने, समय तथा इन्धन बचत, साथै पर्यटन र कृषि अर्थतन्त्रबाट प्राप्त प्रतिफललाई आधार मान्दा चियाबारी-खुर्कोट सुरुङ मार्ग काठमाडौं-पूर्वी तराई जोड्ने बहुआयामिक विकास कोरिडोर र वीपी तथा मध्यपहाडी राजमार्गको दिगोपन सुनिश्चित गर्ने राष्ट्रिय महत्वको पूर्वाधार परियोजना हुनसक्ने दाहालको निष्कर्ष छ।
उनले अन्त्यमा प्रश्न उठाएका छन्—
“के आगामी चुनावपछि बन्ने सरकारले यस्ता परियोजनाको दीर्घकालीन महत्व बुझेर निर्णय गर्न सक्ने राजनीतिक हैसियत राख्ला?”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार