सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै

जलसरोकार
शुक्रबार, असोज ०२, २०८३ | ११:५४:४४ बजे

 

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

निक्षेप संकलनका लागि ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । स्वीकृत बोलपत्रका आधारमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गरिनेछ भने साँवा तथा ब्याज रकम आगामी असोज ३० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको ३० अर्ब रुपैयाँसम्म, १० करोड रुपैयाँले भाग जाने रकममा बोल गर्न सकिनेछ । सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ ।

राष्ट्र बैंकले निक्षेप संकलनका लागि रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएका ब्याजदरमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिनेछ । त्यसपछि क्रमशः माथिल्लो ब्याजदरका बोलपत्र स्वीकार गर्दै आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिनेछ । समान ब्याजदरमा कुल निष्काशित रकमभन्दा बढी माग परेमा भने प्रो–रेटाका आधारमा रकम बाँडफाँट गरिनेछ ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइनेछ । संकलित निक्षेप रकमका लागि छुट्टै खाता खोली जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खातामा फिर्ता जम्मा गरिनेछ । तर, यस्तो निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । राष्ट्र बैंकका निर्देशनअनुसार कायम गर्नुपर्ने अनिवार्य तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने उक्त रकम गणना गर्न सकिनेछ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणअन्तर्गत राखिएको रकम भुक्तानी मितिअघि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई फिर्ता गर्न वा प्रि–म्याच्योर भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने मौद्रिक उपकरणका रूपमा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाबाट रकम खिचेर केन्द्रीय बैंकले प्रणालीमा रहेको तरलताको मात्रा व्यवस्थापन गर्ने गर्दछ ।

प्रकाशित मिति : शुक्रबार, असोज ०२, २०८३ | ११:५४:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया