दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
जलसरोकार
काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जलसरोकारलाई जानकारी दिएको छ।
श्रेष्ठ यसअघि प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। त्यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए।
श्रेष्ठले प्राधिकरणमा लामो समयदेखि प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी २०५४ सालमा सातौँ तहका अधिकृतका रूपमा प्राधिकरणमा प्रवेश गरेका थिए। हालसम्म उनी प्राधिकरणमा करिब २९ वर्षदेखि कार्यरत छन्।
उनले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।
प्राधिकरणमा लामो समयदेखि काम गरेका श्रेष्ठलाई गत वैशाख २३ गते तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। वैशाख ३० गते प्राधिकरण सञ्चालक समितिले उनलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो।
यसबीच श्रेष्ठले प्राधिकरणको नेतृत्व गर्दै विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित नियमित काम अघि बढाउँदै आएका थिए। पछिल्लो समय भने भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति व्यवस्थापन तथा प्रभावित आयोजनाहरूको पुनर्निर्माण प्राधिकरणसामु रहेको प्रमुख जिम्मेवारीमध्ये एक बनेको छ।
अब मन्त्रिपरिषद्को निर्णयसँगै श्रेष्ठले प्राधिकरणको स्थायी कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
यसअघि जलसरोकारले श्रेष्ठको प्राधिकरणभित्रको लामो अनुभव र कुलेखानीलगायतका आयोजनाबाट विकसित भएको संस्थागत नेतृत्व क्षमताबारे समाचार/विश्लेषण प्रकाशित गरेको थियो।
लामो समयदेखि निमित्त र कायममुकायम नेतृत्वमा चल्दै आएको प्राधिकरणले अब स्थायी कार्यकारी निर्देशक पाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता