नेप्सेमा साप्ताहिक दबाब कायम, परिसूचक ४९ अंक घट्दा बजार पूँजीकरण ८४ अर्बले खुम्चियो
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस साता करिब २ प्रतिशतले घटेर बन्द भएको छ। गत साता २७३४.६० विन्दुमा बन्द भएको नेप्से यस साता ४९.०६ अंक अर्थात् १.७९ प्रतिशतले घटेर २६८५.५४ विन्दुमा झरेको हो।
साताभर पाँच कारोबार दिन बजार खुला रहेकामा चार दिन नेप्से ओरालो लागेको थियो भने एक दिन मात्र सामान्य सुधार देखिएको थियो। यस अवधिमा सेन्सेटिभ इण्डेक्स ३.३४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेका छन्।
कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। गत साता दैनिक औसत ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औसत कारोबार रकम ४ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ। यो गत साताको तुलनामा २३.४८ प्रतिशत कम हो। दैनिक औसत शेयर संख्या १९ प्रतिशत तथा दैनिक औसत कारोबार संख्या १८.८१ प्रतिशतले घटेको छ।
बजार ओरालो लागेसँगै कुल बजार पूँजीकरणमा पनि गिरावट आएको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ९९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ८४ अर्ब रुपैयाँले घटेर ४६ खर्ब १५ अर्ब रुपैयाँमा सीमित भएको छ।
बैंकिङबाहेक सबैजसो उपसमूह दबाबमा
१३ उपसमूहमध्ये यस साता केवल बैंकिङ उपसमूहको परिसूचक मात्र बढेको छ। बैंकिङ उपसमूह ०.१५ प्रतिशतले बढ्दै १४८९.१२ विन्दुबाट १४९१.२९ विन्दुमा पुगेको छ।
यता, उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक प्रभावित बनेको छ। उक्त उपसमूहको परिसूचक ३.५३ प्रतिशत अर्थात् ३८९.६३ अंकले घटेर ११ हजार ४९.१८ विन्दुबाट १० हजार ६५९.५५ विन्दुमा झरेको छ। अंक र प्रतिशत दुवै आधारमा यही उपसमूहको गिरावट सबैभन्दा धेरै रहेको छ।
एभरेष्ट कलरको शेयर दोब्बरभन्दा बढी बढ्यो
साताभरको कारोबारमा एभरेष्ट कलर लगानीकर्ताको मुख्य आकर्षण बन्यो। कम्पनीको शेयर मूल्य एक सातामै १०१.०९ प्रतिशतले बढेको छ। गत साता ६४१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको कम्पनीको शेयर मूल्य यस साता १ हजार ३०९ रुपैयाँ ३० पैसामा पुगेको छ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ६.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक २७.७० प्रतिशतले घटेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
नाडेप लघुवित्त ‘मोस्ट पपुलर बाइ’ सूचीमा अग्रस्थानमा
फ्लोरसिट विश्लेषणअनुसार यस साता नाडेप लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र लक्ष्मी उन्नती कोष ‘मोस्ट पपुलर बाइ स्टक’ सूचीको शीर्ष स्थानमा रहेका छन्।
त्यसैगरी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मकर जीतुमाया सुरी हाइड्रोपावर तथा महिला लघुवित्त वित्तीय संस्था ‘मोस्ट पपुलर सेल स्टक’ सूचीमा अग्रस्थानमा रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना