लगातारको वर्षापछि सप्तकोशीमा पानीको बहाव उच्च, खतराको संकेतस्वरूप रातो बत्ती बालियो
जलसरोकार
सुनसरी: सप्तकोशी नदीमा केही दिनयताको लगातार वर्षापछि पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ।
मापन केन्द्रका तथ्यांकअनुसार, कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २८ ढोका खोलिएका छन्। सामान्यतया, ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ । सोहीअनुसार शनिबार राति पानीको सतह बढेपछि ब्यारेजको कन्ट्रोल रुमबाट रातो बत्ती बालिएको छ ।
हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जनाएका छन्। तर, सततको वर्षाका कारण जलसतह अझै बढ्ने सम्भावना रहेकाले स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायहरू सतर्क अवस्थामा छन् ।
वर्षासँगै हिमाली तथा पहाडी क्षेत्रमा परेको पानी र बाढीजन्य पदार्थ बगाउँदै सप्तकोशीमा मिसिन थालेपछि नदीको वहाव थप तीव्र भएको हो। यसले तटबन्ध आसपासका बस्तीहरूमा जोखिम बढाउने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन तथा नदी किनाराबाट टाढा बस्न आग्रह गरिएको छ ।
कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी मानिन्छ र यसको वहाव असामान्य रूपमा बढ्दा विगतमा पूर्वी तराईका जिल्लामा ठूलो जनधनको क्षति भएको उदाहरणहरू छन् । त्यसैले अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै आपतकालीन उद्धारका लागि आवश्यक तयारी गर्न स्थानीय तह र सुरक्षा निकायहरू सक्रिय छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा