जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो तमोर (२८५ मेगावाट) ले भित्र्यायो विश्वकै ठूलो इलेक्ट्रो मेकानिकल कम्पनी

जलसरोकार
शनिबार, चैत ३०, २०८१ | ०८:५३:४४ बजे
समझौता पत्र आदान-प्रदान गर्दै तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढु‌गाना र डोनफेङ इलेक्ट्रिकका उपाध्यक्ष मा जियान । तस्वीर : धर्मलाल सुनार/जलसरोकार

काठमाडौं : स्वदेशी लगानीको सबैभन्दा ठूलो निजी जलविद्युत् आयोजना माथिल्लो तमोर (२८५ मेगावाट) को इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको छ । 
यससम्बन्धी सम्झौतामा तमोर इनर्जी प्रा.लि. र चीनको डोनफेङ इलेक्ट्रिक मेसिनरी कम्पनीबीच हिजो साँझ एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । 
सम्झौतामा तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढुंगाना र डोनफेङ इलेक्ट्रिकका उपाध्यक्ष मा जियानले हस्ताक्षर गरे । 
यसअघि गत चैत २१ गते उक्त कम्पनीले चाइना रेल्बे नम्बर २  इन्जिनियरिङ ग्रुप कम्पनीसँग ८.७ किलोमिटर सुरुङ निर्माणका लागि सम्झौता गरेको थियो । 
कुल ५१ अर्ब लागत रहेको उक्त आयोजना आगामी साढे तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । उनले आयोजना निर्माण कार्य थालनी भइसकेको र निर्धारित लागत र समयमावधिमै सम्पन्न हुने जानकारी दिए । 
अध्यक्ष ढुंगानाले जुन कम्पनीसँग सम्झौता भएको हो, उक्त कम्पनी संसारको सबैभन्दा ठूलो कम्पनीहरुमध्येमा पर्ने र एकल युनिट नै एक हजार मेगावाटको टर्बाइन बनाउने जानकारी दिए । 
चिनियाँ सरकारको कम्पनीले नेपालको निजी क्षेत्रसँग गरेको यो पहिलो सम्झौता हो । 
ढुंगानाले जस्तोसुकै कठिन परिस्थितिमा पनि हरेक समस्या समाधान गर्दै आयोजनालाई निर्धारित समयभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सोही कार्यक्रममा आयोजनाको सिभिल संरचना निर्माणका लागि फेवा कन्स्ट्रक्सन र प्रवद्र्धक कम्पनी तमोर इनर्जीबीच निर्माणसम्बन्धी सम्झौता भयो । सम्झौतामा अध्यक्ष ढुंगाना र फेवा कन्स्ट्रक्सनका अध्यक्ष विष्णु कोइारालाले हस्ताक्षर गरे ।
ढुंगानाले सुरु गरेको एक मेगावाटको पाटीखोलादेखि ४४ मेगाटाको सुपर मादी हुँदै हाल २८५ मेगावाटको माथिल्लो तमोरमा फेवा कन्स्ट्रक्सन सहभागी हुँदै आएको जानकारी दिए । 
कार्यक्रमका प्रमुख अतिथि सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले तमोर इनर्जीको जलविद्युत् निर्माणको अभियानको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । मन्त्री गुरुङले जलविद्युत् निर्माणको अभियानमा नेपाल सरकारको पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे । 
त्यसैगरी कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तमोर इनर्जीका अध्यक्ष ढुंगानाले बडो मेहेनत र खोजतलास गरी डोनफेङ इलेक्ट्रिकलाई देशमा भित्र्याएको बताए । उनले उक्त आयोजनाबाट उत्पादन हुने बिजुलीलाई ढुृंगेसाँगु सवस्टेशनमा जोडिने जानकारी दिंदै प्राधिकरणले निर्माण गर्नुपर्ने संरचना समयमै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 
कार्यक्रममा स्वतन्त्र विद्युत् उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले तमोर इनर्जीले विश्वकै सर्वाधिक प्रतिष्ठित कम्पनीलाई नेपालमा भित्र्याएर प्रविधि पनि सँगै भित्र्याएकोमा खुशी व्यक्त गरे ।
कार्यकारी निर्देशक शाक्यले नेपालको निजी क्षेत्रले यति ठूलो आयोजना निर्माणको महाअभियान सम्पन्न गरेपछि त्यसले मुलुकको जलविद्युत् क्षेत्रमा उल्लेखनीय फड्को मार्ने विश्वास व्यक्त गरे । ‘चिलिमे (२० मेगावाट) ले ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माणको मार्ग प्रशस्त गरेझैं माथिल्लो तमोर सम्पन्न भएपछि यसले निजी क्षेत्रको क्षमता अझ बढी विस्तार हुनेछ,’ उनले भने । 
उनले सरकारले घोषणा गरेको आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट जलविद्युत् निर्माणका लागि निजी क्षेत्र सक्षम रहेको बताए । अध्यक्ष कार्कीले सरकारले संसदमा पेश गरेको विद्युत् विधेयकले निजी क्षेत्रलाई निषेध गर्न खोजेकाले त्यसलाई सच्याउन सरकारलाई आग्रह पनि गरे । 
 

 

प्रकाशित मिति : शनिबार, चैत ३०, २०८१ | ०८:५३:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया