चार वर्षको घाटापछि अपर तामाकोशी नाफातर्फ, ब्याजदर घट्दा ठूलो राहत
विद्युत् गृहको सञ्चालन दक्षता बढ्दा हाइड्रोलोजी पेनाल्टी शून्य, ऋणको ब्याजदर ८.२५ बाट ६.७५ प्रतिशतमा झारियो
जलसरोकार
काठमाडौं : निर्माण सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गरेपछि लगातार चार वर्ष घाटामा रहेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षमा नाफातर्फ फर्किने अवस्थामा पुगेको छ। विद्युत् गृहको सञ्चालनमा सुधार, तामाकोशी नदीमा पानीको उपलब्धता, हाइड्रोलोजी पेनाल्टीमा आएको कमी तथा दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल भएपछि कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको हो।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रञ्जितका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कम्पनी करिब १ अर्ब रुपैयाँको हाराहारीमा नाफा कमाउने अवस्थामा पुगेको छ। उनका अनुसार २०८२ माघदेखि आफूले निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालेपछि विद्युत् गृह सञ्चालनमा आवश्यक प्राविधिक स्तरोन्नति गरी उच्च दक्षतामा सञ्चालन गरिएको र त्यसको प्रभाव कम्पनीको आम्दानीमा देखिएको हो।
अपर तामाकोशीको पछिल्लो वित्तीय विवरणले पनि कम्पनीको सञ्चालन आम्दानीमा सुधार देखाउँछ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म विद्युत् बिक्रीबाट कम्पनीले ७१ करोड १८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। अघिल्लो त्रैमासिकमा यस्तो आम्दानी करिब ६० करोड ७६ लाख रुपैयाँ थियो भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ७१ लाख रुपैयाँ हाराहारीमा थियो।
तर विद्युत् बिक्रीबाट आम्दानी बढ्दै गए पनि कम्पनीमाथिको ठूलो ऋणको वित्तीय भार अझै चुनौतीका रूपमा छ। चैतसम्मको वित्तीय विवरणमा कम्पनीको वित्तीय खर्च ४० करोड ५२ लाख रुपैयाँभन्दा बढी रहेको छ। यही कारण सञ्चालनबाट भएको आम्दानीको ठूलो हिस्सा ब्याज तथा अन्य वित्तीय खर्चमै जाने गरेको छ।
पेनाल्टी तिर्नुपरेन, वर्षौंपछि ठूलो राहत
अपर तामाकोशीको वित्तीय सुधारमा यस वर्ष हाइड्रोलोजी पेनाल्टी नतिर्नुपरेको विषय पनि महत्वपूर्ण देखिन्छ।
कम्पनीले विगतका वर्षमा आफ्नै माउ कम्पनी नेपाल विद्युत् प्राधिकरणलाई तामाकोशी नदीमा उपलब्ध पानीअनुसार विद्युत् उत्पादन गर्न नसक्दा हाइड्रोलोजी पेनाल्टी तिर्दै आएको थियो। आर्थिक वर्ष २०७८/७९ मा यस्तो पेनाल्टी ३३ लाख रुपैयाँ थियो।
त्यसपछि पेनाल्टीको भार झन् बढ्यो। आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ५३ करोड रुपैयाँ, २०८०/८१ मा २५ करोड रुपैयाँ र २०८१/८२ मा २२ करोड रुपैयाँ हाइड्रोलोजी पेनाल्टी तिरेको थियो।
यसरी चार वर्षमा मात्रै कम्पनीले हाइड्रोलोजी पेनाल्टीबापत करिब १ अर्ब रुपैयाँ खर्चिनुपरेको देखिन्छ। तर चालु आर्थिक वर्षमा भने यस्तो पेनाल्टी तिर्नुपरेको छैन।
रञ्जितका अनुसार यसको एउटा कारण विद्युत् गृहलाई पहिलेभन्दा कुशलतापूर्वक सञ्चालन गर्नु हो भने अर्को कारण तामाकोशी नदीमा पानीको उपलब्धता राम्रो हुनु हो। विद्युत् गृहको सञ्चालनमा सुधार र अनुकूल जलप्रवाहका कारण उपलब्ध पानीबाट विद्युत् उत्पादनलाई प्रभावकारी बनाउन सकिएको उनको भनाइ छ।
यो परिवर्तन अपर तामाकोशीका लागि सामान्य सुधार मात्र होइन। विगतका वर्षमा आम्दानी बढाउने प्रयाससँगै ठूलो रकम हाइड्रोलोजी पेनाल्टीका रूपमा बाहिरिँदै आएको अवस्थामा यस वर्ष त्यो खर्च शून्य हुनु कम्पनीको नाफा सुधारमा प्रत्यक्ष योगदान गर्ने पक्ष हो।
ब्याजदर घटाउँदा वार्षिक ७५ करोड बचत
अपर तामाकोशीको वित्तीय सुधारमा अर्को महत्वपूर्ण उपलब्धि दीर्घकालीन ऋणको ब्याजदर घटाउनु हो। कम्पनीका निमित्त सीईओ रञ्जितका अनुसार दीर्घकालीन ऋणमा कायम ८.२५ प्रतिशत ब्याजदरलाई घटाएर ६.७५ प्रतिशतमा कायम गर्न कम्पनी सफल भएको छ। यो ब्याजदर कम्तीमा तीन वर्ष स्थिर रहने व्यवस्था गरिएको उनको भनाइ छ।
यसबाट कम्पनीले वार्षिक करिब ७५ करोड रुपैयाँ ब्याज खर्च बचत गर्ने र तीन वर्षमा करिब २ अर्ब २५ करोड रुपैयाँ वित्तीय खर्च बचत हुने रञ्जितले बताए।
ठूलो ऋणमा निर्माण भएको अपर तामाकोशीका लागि ब्याजदरमा आएको यो कमीको प्रभाव प्रत्यक्ष रूपमा नाफामा पर्नेछ। विद्युत् बिक्रीबाट आम्दानी बढाउनुपर्ने दबाबसँगै ऋणको ब्याज खर्च घटाउन सकिएमा कम्पनीको नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा समेत सुधार आउन सक्छ।
अर्थात् अपर तामाकोशीको वित्तीय सुधारको कथा विद्युत् उत्पादन र बिक्री बढेकोमा मात्र सीमित छैन। एकातिर आम्दानी बढाउने र अर्कोतिर खर्चको ठूलो हिस्सा ओगटेको ब्याजदर घटाउने दुईवटा मोर्चामा एकैपटक सुधार आएको छ।
चार वर्ष घाटा, अब नाफातर्फको मोड
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र सञ्चालनमा आएपछि कम्पनीले अपेक्षित रूपमा तत्काल नाफा कमाउन सकेन। ठूलो लगानी, ऋणको भारी वित्तीय दायित्व, ब्याज खर्च तथा हाइड्रोलोजी पेनाल्टीजस्ता कारणले कम्पनी लगातार चार वर्ष घाटामा रह्यो।
तर चालु आर्थिक वर्षमा भने परिस्थिति बदलिँदै गएको छ। विद्युत् बिक्रीबाट आम्दानी बढेको छ, हाइड्रोलोजी पेनाल्टी तिर्नुपरेको छैन र दीर्घकालीन ऋणको ब्याजदरसमेत घटाइएको छ।
यसैको परिणामस्वरूप कम्पनी चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँको हाराहारीमा नाफा कमाउने अवस्थामा पुगेको रञ्जितको दाबी छ।
तर कम्पनीको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले भने तेस्रो त्रैमासिकसम्मको खुद नाफा करिब २ करोड ८७ लाख रुपैयाँ देखाउँछ। त्यसैले करिब १ अर्ब रुपैयाँको वार्षिक नाफाको प्रक्षेपणलाई अहिले नै अन्तिम नाफाका रूपमा लिनुभन्दा कम्पनी व्यवस्थापनको अनुमान/दाबीका रूपमा बुझ्नुपर्ने हुन्छ। आर्थिक वर्षको अन्तिम वित्तीय विवरणले त्यसलाई पुष्टि गर्नेछ।
बाढीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण अघि बढ्दै
अपर तामाकोशीको वित्तीय सुधार भइरहँदा आयोजनाले अर्को महत्वपूर्ण चुनौती पनि सामना गरिरहेको छ। बाढीका कारण क्षतिग्रस्त आयोजनाका संरचनाको पुनर्निर्माण गर्नुपर्ने अवस्था छ।
निमित्त सीईओ रञ्जितका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक खरिद प्रक्रिया सुरु गर्न टेण्डर आह्वान भइसकेको छ।
यसले आगामी दिनमा कम्पनीको थप खर्च र सञ्चालन व्यवस्थापनमा नयाँ चुनौती थप्नेछ। तर क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेर विद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकिएमा त्यसले कम्पनीको आम्दानीमा थप सुधार ल्याउने सम्भावना पनि रहनेछ।
कम्पनीले वित्तीय विवरणमा पनि बाढीबाट क्षति पुगेका संरचनाको मर्मत तथा विद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने काम भइरहेको जनाएको छ। राइट सेटलिङ बेसिनको मर्मत तथा पहिरो रोकथामसम्बन्धी काम पनि अघि बढिरहेको उल्लेख छ।
व्यवस्थापनमा सुधारसँगै संस्थागत काम पनि अघि बढ्यो
रञ्जितले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेपछि कम्पनीको सञ्चालनसँगै संस्थागत कामसमेत अघि बढाइएको बताएका छन्।
विगतका वर्षमा विशेष कारणले हुन नसकेका कम्पनीका १६औँ र १७औँ वार्षिक साधारणसभा २०८२ चैत २९ गते सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए। त्यसका लागि आवश्यक समन्वय तथा व्यवस्थापन गरिएको उनको भनाइ छ।
अझै सकिएको छैन ऋणको चुनौती
अपर तामाकोशी नाफातर्फ फर्किए पनि कम्पनीको सबैभन्दा ठूलो चुनौती अझै ऋणको दायित्व नै हो।
चैत मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण ६७ अर्ब रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणले देखाउँछ। यस्तो ठूलो ऋणको साँवा तथा ब्याज भुक्तानी लामो समयसम्म कम्पनीको वित्तीय योजनाको मुख्य हिस्सा रहनेछ।
त्यसैले ब्याजदर घट्नु कम्पनीका लागि ठूलो राहत भए पनि त्यसले ऋणको मूल भार हटाउँदैन। कम्पनीले आगामी वर्षहरूमा विद्युत् बिक्रीबाट पर्याप्त आम्दानी कायम राख्दै ऋणको साँवा–ब्याज भुक्तानी, नियमित मर्मतसम्भार तथा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई एकसाथ व्यवस्थापन गर्नुपर्नेछ।
अपर तामाकोशीको पछिल्लो अवस्था हेर्दा एउटा महत्वपूर्ण परिवर्तन भने देखिन्छ– चार वर्षसम्म घाटा व्यहोरेको कम्पनी अहिले आम्दानी बढाउने, अनावश्यक वित्तीय भार घटाउने र विद्युत् गृहको सञ्चालन दक्षता सुधार्ने दिशामा अघि बढेको छ।
हाइड्रोलोजी पेनाल्टीमा आएको शून्य अवस्था, ब्याजदरमा भएको १.५ प्रतिशत बिन्दुको कमी र विद्युत् बिक्री आम्दानीमा आएको सुधारले कम्पनीको वित्तीय तस्वीर बदल्न थालेका छन्। अब यो सुधार कति दिगो हुन्छ र ठूलो ऋणको भार घटाउँदै कम्पनीले दीर्घकालीन रूपमा कस्तो वित्तीय स्वास्थ्य कायम गर्न सक्छ भन्ने नै अपर तामाकोशीका लागि मुख्य प्रश्न हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
-
चार वर्षको घाटापछि अपर तामाकोशी नाफातर्फ, ब्याजदर घट्दा ठूलो राहत
-
प्रसारण लाइन आयोजना समयमै सम्पन्न नहुनुको वास्तविक चुनौती
-
अर्थमन्त्री वाग्ले ठोके सिंचाई र खानेपानीको बिजुलीमा समेत भ्याट, पूर्व ऊर्जामन्त्री घिसिङले गरे विरोध
-
तामाकोशी-५ मा पाँच स्थानबाट एकैसाथ सुरुङ उत्खनन, ७८४ मिटर हेडरेस सुरुङ निर्माण
-
पञ्चेश्वर : मेगावाटको मोह कि राष्ट्रिय हित?