तामाकोशी-५ मा पाँच स्थानबाट एकैसाथ सुरुङ उत्खनन, ७८४ मिटर हेडरेस सुरुङ निर्माण
आठ महिना निर्माण रोकिए पनि भूमिगत संरचनामा उल्लेखनीय प्रगति, पावरहाउस उत्खनन करिब ६५ प्रतिशत सम्पन्न
जलसरोकार
काठमाडौं : दोलखामा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाले पाँच स्थानबाट एकैसाथ सुरुङ उत्खनन गर्दै मुख्य भूमिगत संरचना निर्माणलाई तीव्रता दिएको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक आयोजना प्रगति प्रतिवेदनअनुसार आयोजनाले प्रतिवेदन अवधिमा हेडरेस सुरुङ (एचआरटी) को ७८४ मिटर उत्खनन सम्पन्न गरेको छ।
तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हेडपोण्ड, स्पिलवे, मुख्य पहुँच सुरुङ (एमएटी), केबल तथा भेन्टिलेसन सुरुङ (सीभीटी), ट्रान्सफर्मर क्याभर्न, पावरहाउस एडिट सुरुङ, बसडक्ट ग्यालरी, इमर्जेन्सी एस्केप सुरुङ, अपस्ट्रिम म्यानिफोल्ड, एडिट-२, एडिट-३ तथा अन्य जडान सुरुङहरूको उत्खनन सम्पन्न भइसकेको छ।
आयोजनाले पाँचवटा वर्किङ फेस बाट एकैसाथ काम गर्दै मुख्य हेडरेस सुरुङ निर्माणलाई अघि बढाएको जनाएको छ। प्रतिवेदनअनुसार हालसम्म कुल सुरुङ लम्बाइको करिब ९.६७ प्रतिशत बराबर ७८४ मिटर उत्खनन सम्पन्न भएको छ।
भूमिगत संरचनामध्ये पावरहाउस निर्माणमा पनि उल्लेखनीय प्रगति भएको कम्पनीले जनाएको छ। प्रतिवेदनअनुसार पावरहाउस क्याभर्नको करिब ६४.७१ प्रतिशत उत्खनन सम्पन्न भएको छ। पहिलो र दोस्रो तहको उत्खनन पूरा गरी तेस्रो तहको काम सुरु गरिएको छ भने ट्रान्सफर्मर क्याभर्नको उत्खनन पनि सम्पन्न भइसकेको छ।
यसैगरी, स्पिलवे सुरुङतर्फ आर्थिक वर्षमा २७३.३ मिटर उत्खनन सम्पन्न भएको छ, जुन वार्षिक लक्ष्यको ९८.४ प्रतिशत हो। एडिट-२ मा ४८८.६१ मिटर, एडिट-३ मा ३१४ मिटर तथा एडिट-४ मा ४०४.२ मिटर उत्खनन सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ। हेडपोण्ड क्षेत्रमा ११ हजार ९६० घनमिटर उत्खनन गरिएको छ।
यद्यपि, वन क्षेत्रको स्वीकृति तथा सार्वजनिक जग्गा भोगाधिकार अनुमति प्राप्त गर्न ढिलाइ हुँदा आयोजना करिब आठ महिनासम्म प्रभावित भएको थियो। गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको पत्रपछि निर्माण रोकिएको थियो भने वन तथा वातावरण मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि २०८२ फागुन २४ गतेदेखि पुनः निर्माण कार्य सुरु भएको कम्पनीले जनाएको छ।
निर्माण पुनः सुरु भएपछि चार महिनाको अवधिमा मात्रै थप २.६८ प्रतिशत भौतिक प्रगति हासिल भएको प्रतिवेदनमा उल्लेख छ। हाल आयोजनाको समग्र सञ्चित भौतिक प्रगति २१.६८ प्रतिशत पुगेको छ। आर्थिक वर्षका लागि १४.८९ प्रतिशत वार्षिक लक्ष्य रहेकामा ६.३० प्रतिशत प्रगति हासिल भएको कम्पनीले जनाएको छ।
आयोजना तीनवटा प्रमुख ठेक्का प्याकेजमार्फत कार्यान्वयन भइरहेको छ। लट-१ अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्य तीव्र रूपमा अघि बढेको, लट-२ अन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण तथा प्रसारण लाइनको ठेक्का परिचालनमा आइसकेको तथा लट-३ अन्तर्गत स्थायी शिविर निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
करिब २१.९५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको समग्र वित्तीय प्रगति २५.९० प्रतिशत पुगेको छ। हालसम्म ५ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ भने प्रतिवेदन अवधिमा मात्रै २ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तामाकोशी-५ मा पाँच स्थानबाट एकैसाथ सुरुङ उत्खनन, ७८४ मिटर हेडरेस सुरुङ निर्माण
-
पञ्चेश्वर : मेगावाटको मोह कि राष्ट्रिय हित?
-
विद्युत् महसुल अब लागत, ऊर्जा खपत र समयको आधारमा निर्धारण हुने
-
श्वेत गंगा हाइड्रोपावरको नाफामा उल्लेख्य छलाङ, खुद नाफा १७ करोड ७३ लाख रुपैयाँ
-
माथिल्लो मैलुङ खोला जलविद्युत घाटाबाट नाफामा, खुद नाफा ११ करोड १२ लाख रुपैयाँ
-
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह