सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अर्थमन्त्री वाग्ले ठोके सिंचाई र खानेपानीको बिजुलीमा समेत भ्याट, पूर्व ऊर्जामन्त्री घिसिङले गरे विरोध

‘ग्यास होइन, घरघरमा इन्डक्सन चुल्हो बाँड्ने योजना ल्याउनुपर्छ’

जलसरोकार
शनिबार, साउन २३, २०८३ | ०९:३०:०० बजे

काठमाडौं : पूर्वऊर्जा मन्त्री कुलमान घिसिङले कृषकको सिँचाइ तथा सामुदायिक खानेपानी आयोजना सञ्चालनका लागि प्रयोग हुने विद्युत्‌मा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै विरोध गरेका छन्।

घिसिङले शनिबार सामाजिक सञ्जालमार्फत सरकारले अत्यावश्यक सेवामा विद्युत् महसुलमा सहुलियत दिनुपर्नेमा उल्टै कर लगाएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्। सिँचाइ र खानेपानीजस्ता आधारभूत सेवामा विद्युत् खपतलाई थप सहुलियत दिनुपर्ने उनको भनाइ छ।

उनका अनुसार आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कृषकको सिँचाइका लागि लाग्ने माग शुल्क हटाएर विद्युत् महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको थियो। त्यस्तै, सामुदायिक खानेपानी आयोजनामा पानी लिफ्ट गर्न प्रयोग हुने विद्युत्‌को माग शुल्क हटाएर प्रतियुनिट ९ रुपैयाँबाट करिब ४ रुपैयाँ २० पैसा कायम गरिएको उनले उल्लेख गरेका छन्।

‘कृषि सिँचाइका लागि विद्युत् निःशुल्क नै गर्दा पनि हुन्छ’ भन्दै घिसिङले यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा सरकारले उल्टै १३ प्रतिशत भ्याट लगाउनु गलत भएको बताएका छन्।

उनले कृषकले मल, बीउ, ज्याला तथा कृषि यन्त्रको भाडालगायतका उत्पादन लागत निरन्तर बढिरहेको अवस्थामा विद्युत्‌मा समेत कर थपिँदा थप भार पर्ने बताएका छन्। अर्कोतर्फ, कृषकले उत्पादन गरेको वस्तुको मूल्य भने घटाएर बिक्री गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

घिसिङले लिफ्ट सिँचाइबिना धेरै ठाउँमा खेती गर्न नसकिने र ग्रामीण क्षेत्रमा पानी लिफ्ट नगरी खानेपानी उपलब्ध गराउन कठिन हुने उल्लेख गरेका छन्।

ग्यास अभावका बेला इन्डक्सन प्रवर्द्धन गर्नुपर्ने तर्क

घिसिङले घरायसी उपभोक्ताले प्रयोग गर्ने विद्युत्‌मा समेत भ्याट लगाइएको भन्दै सरकारको नीतिमाथि प्रश्न उठाएका छन्।

उनका अनुसार अहिले घरघरमा ग्यासको अभाव भइरहेका बेला विद्युत्‌मा सहुलियत दिएर इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने हो। तर सरकारले त्यसको विपरीत घरायसी विद्युत्‌मा समेत भ्याट लगाएको उनको आरोप छ।

‘ग्यास सिलिन्डर होइन, अब इन्डक्सन चुल्हो बाँड्ने योजना सरकारले ल्याउनुपर्छ’, घिसिङले भनेका छन्।

नेपालमा उत्पादित विद्युत् खेर जाने र अर्कोतर्फ खाना पकाउने ग्यासका लागि उपभोक्ताले लाइन बस्नुपर्ने अवस्थालाई उनले विडम्बनापूर्ण भनेका छन्।

‘इन्डक्सन र विद्युतीय गाडी बढाउँदा पनि पूर्वाधारले धान्छ’

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहिसकेका घिसिङले नेपालमा रहेको विद्युत् पूर्वाधारले इन्डक्सन चुल्होको प्रयोग र विद्युतीय सवारीसाधनको चार्जिङ बढाउँदा पनि धान्न सक्ने दाबी गरेका छन्।

उनका अनुसार विद्युत् प्रणालीमा केही प्राविधिक समस्या आए पनि त्यसलाई तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको छ।

आफ्नो घरमा खाना पकाउनेदेखि गाडी चलाउनेसम्म सबै काम विद्युत्‌बाटै भइरहेको उल्लेख गर्दै उनले अब देशभर घरायसी तथा यातायात क्षेत्रमा विद्युत्‌को प्रयोग बढाउनुपर्ने धारणा राखेका छन्।

विद्युत्‌को आन्तरिक खपत बढाउँदा मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग पुग्ने र विदेशी मुद्रा सञ्चिति बढाउनसमेत योगदान पुग्ने उनको तर्क छ।

‘भ्याट फिर्ता लिनुस्, बक्यौता उठाउन कदम चाल्नुस्’

घिसिङले सरकारले विद्युत्‌मा लगाएको भ्याट तत्काल फिर्ता लिन जोडदार माग गरेका छन्।

उनले विद्युत् महसुलमा कर लगाएर उपभोक्तामाथि थप भार पार्नुको सट्टा प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनतर्फको अर्बौं रुपैयाँ बक्यौता उठाउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : शनिबार, साउन २३, २०८३ | ०९:३०:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया