सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अपर स्याङ्गे हाइड्रोपावर नाफामा, तेस्रो त्रैमाससम्म ८५ लाख रुपैयाँ कमाइ

जलसरोकार
शुक्रबार, वैशाख २५, २०८३ | १६:१६:१२ बजे

 

काठमाडौं : अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नाफामा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले ८५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ६२ लाख ९८ हजार रुपैयाँ घाटामा रहेको थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी उल्लेख्य रूपमा बढेसँगै नाफामा सुधार आएको हो । समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ९८ लाख रुपैयाँ मात्र थियो । सञ्चालन खर्च २२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल सञ्चालन नाफा २ करोड ८७ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा सञ्चालन नाफा ९९ लाख ६४ हजार रुपैयाँ थियो । वित्तीय खर्च घटेकाले पनि नाफा सुधारमा सहयोग पुगेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २ करोड ५४ हजार रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष यही खर्च २ करोड ६२ लाख रुपैयाँभन्दा बढी थियो ।

तेस्रो त्रैमासको मात्र विवरण हेर्दा कम्पनीले ३४ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यही त्रैमासमा कम्पनी ११ लाख ३२ हजार रुपैयाँ घाटामा थियो । यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी २२ करोड रुपैयाँ कायम छ । जगेडा कोष भने अझै ऋणात्मक अवस्थामा रहेको छ । चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ९३ लाख ७८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म यस्तो सञ्चित नोक्सानी १ करोड ७९ लाख रुपैयाँभन्दा बढी थियो । यसले कम्पनीको सञ्चित घाटा क्रमशः घट्दै गएको संकेत गरेको छ ।

कम्पनीको कुल सम्पत्ति ५९ करोड ५६ लाख रुपैयाँ रहेको छ, जुन गत असारको तुलनामा केही घटेको हो । कम्पनीसँग २५ लाख १९ हजार रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको छ । दीर्घकालीन कर्जा ३२ करोड ७२ लाख रुपैयाँ तथा अल्पकालीन कर्जा ५ करोड १० लाख रुपैयाँ रहेको छ ।

प्रति शेयर आम्दानी (ईपीएस) वार्षिकीकृत आधारमा ५२ पैसा पुगेको छ । प्रति शेयर नेटवर्थ ९५ रुपैयाँ ७४ पैसा रहेको कम्पनीले जनाएको छ । तरलता अनुपात ४८.०३ प्रतिशत तथा मूल्य–आम्दानी अनुपात १३६.२३ गुणा रहेको छ ।

कम्पनीले रसुवामा निर्माण गरेको अपर स्याङ्गे जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा रहेको जनाएको छ । उत्पादन स्थिर रहेकाले आम्दानीमा सुधार आएको कम्पनीको भनाइ छ । साथै, प्रसारण लाइन तथा विद्युत् आपूर्ति व्यवस्थामा देखिने समस्या, प्राकृतिक विपत्ति तथा जलप्रवाहमा आउने उतारचढावले भविष्यको आम्दानीमा प्रभाव पार्न सक्ने जोखिम भने कायम रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार संस्थापक समूहले नै बहुमत शेयर स्वामित्व कायम राखेको छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको शेयरको अधिकतम मूल्य ७५७ रुपैयाँ र न्यूनतम मूल्य ६५० रुपैयाँसम्म कारोबार भएको विवरणमा उल्लेख छ ।

 

प्रकाशित मिति : शुक्रबार, वैशाख २५, २०८३ | १६:१६:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया