अप्पर हेवाखोला हाइड्रोपावरले चैत मसान्तसम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमायाे
जलसरोकार
काठमाडौं : अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ८ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।
वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्म कम्पनीले ८ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको उक्त अवधिमा कम्पनीको नाफा ४ करोड ४६ लाख ११ हजार रुपैयाँ रहेको थियो । यस आधारमा कम्पनीको नाफा झन्डै ८१ प्रतिशतले बढेको देखिएको छ ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले १९ करोड १५ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा यस्तो आम्दानी १६ करोड ७२ लाख २३ हजार रुपैयाँ रहेको थियो । विद्युत् उत्पादन तथा बिक्रीमा सुधार आएसँगै आम्दानी बढेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।
कम्पनीको कुल राजस्व वृद्धि भएसँगै सञ्चालन नाफामा समेत सुधार आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ७९ लाख ७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा सञ्चालन नाफा १० करोड ४७ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
यद्यपि कम्पनीको वित्तीय लागत भने उच्च रहेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ४ करोड ५४ लाख ९४ हजार रुपैयाँ वित्तीय खर्च व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेको थियो । वित्तीय खर्च केही घटे पनि कम्पनीमाथि बैंक तथा वित्तीय संस्थाको दायित्व अझै उच्च रहेको देखिन्छ ।
कम्पनीको गैरचालु दायित्वअन्तर्गत ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढी वित्तीय दायित्व रहेको छ । त्यस्तै चालु दायित्वतर्फ २ करोड ७२ लाख रुपैयाँभन्दा बढी दायित्व रहेको वित्तीय विवरणमा उल्लेख छ ।
चैत मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो त्रैमासमा कम्पनीको कुल सम्पत्ति १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल इक्विटी ६६ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ८ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणले देखाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) वार्षिकीकरण आधारमा १८ रुपैयाँ ७२ पैसा कायम भएको छ । गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ ९० पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ७१ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३२ गुणा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले वित्तीय विवरणमा आयोजनाको सञ्चालन सन्तोषजनक रहेको तथा विद्युत् उत्पादन अपेक्षाअनुसार भइरहेको उल्लेख गरेको छ । साथै मौसम परिवर्तन तथा प्राकृतिक जोखिमलाई भने प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ ।
समीक्षा अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम ६६५ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ५४५ रुपैयाँमा कारोबार भएको विवरणमा उल्लेख छ । चैत मसान्तसम्म कम्पनीको अन्तिम सेयर मूल्य ५५१ रुपैयाँ कायम रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आम्दानी बढ्यो, तर बुटवल पावरको नाफा खस्कियो
-
साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घट्याे
-
९ महिना काम रोकियो, तर २०८५ असारमै तामाकोशी-५ सक्ने लक्ष्य छ : सीइओ यादव
-
आगामी वर्षका लागि बजेटको सिलिङ १८ खर्ब ९० अर्ब रुपैयाँ
-
जेनजी आन्दोलन नभएको भए मुलुक भड्खालोतर्फ जान्थ्यो’ : स्वर्णिम वाग्ले
-
अपि पावरको नाफामा ८६ प्रतिशत वृद्धि, खुद नाफा ६५ करोड नाघ्यो