युनियन हाइड्रोपावरको ऐतिहासिक निर्णय : १०० प्रतिशत हकप्रद, होल्डिङ कम्पनीमा रूपान्तरण
जलसरोकार
काठमाडौँ : युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा आज सम्पन्न भएको छ । उक्त विशेष साधारण सभाले कम्पनीको भविष्य र लगानीकर्ताका लागि महत्वपूर्ण रणनीतिक निर्णयहरू पारित गरेको छ।
सभाको मुख्य एजेन्डा अन्तर्गत कम्पनीले १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। अब कम्पनीले नियामक स्वीकृतिका लागि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्ड मा आवेदन दिने प्रक्रिया अघि बढाउनेछ।
यससँगै कम्पनीले आफ्नो संरचनागत रूपान्तरण गर्दै ‘होल्डिङ कम्पनी’ बन्ने निर्णय पनि गरेको छ। सभाले कम्पनीको नाम परिवर्तन गरी “युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड” राख्ने प्रस्ताव स्वीकृत गरेको छ, जसअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरिनेछ।
हकप्रद शेयरबाट संकलित पूँजी नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने योजना कम्पनीले अघि सारेको छ। सभाले २३ मेगावाट क्षमताको ‘आयू मयू खोला’ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ। हाल उक्त आयोजनाको निर्माण २५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ र प्रति मेगावाट लागत करिब १७–१७.५ करोड रुपैयाँ रहने जानकारी दिइएको छ।
सभामा दिइएको विवरणअनुसार कम्पनी हाल पूर्ण रूपमा ऋणमुक्त (Zero Loan) अवस्थामा पुगेको छ। साथै, कम्पनीले अब दोस्रो बजारमा समेत लगानी गर्न पाउने स्वीकृति प्राप्त गरेको छ, जसले आम्दानीका स्रोतहरू विविधीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सभामा सहभागी सेयरधनीहरूले कम्पनीको विस्तार, लगानी र दीर्घकालीन वृद्धिलाई लक्षित गर्दै ल्याइएका योजनाहरूलाई सकारात्मक रूपमा लिँदै समर्थन जनाएका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?