सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग

जलसरोकार
मंगलबार, चैत ०३, २०८२ | २०:४६:२६ बजे

काठमाडौं : उज्यालो नेपाल पार्टीले जेन जी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पार्टीले आइतबार जारी प्रेस वक्तव्यमा आन्दोलनका क्रममा भएको मानवीय क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको नोक्सानी, राज्य संयन्त्रको भूमिका, आदेश शृंखला तथा बल प्रयोगको औचित्यबारे छानबिन गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत रहेको जनाएको छ।

वक्तव्यमा यस्ता घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक नगरिँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढ्ने उल्लेख गरिएको छ। पीडित पक्ष, घाइते, मृतकका परिवार तथा आन्दोलनसँग जोडिएका नागरिकले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राख्नु उचित नहुने पार्टीको भनाइ छ।

उज्यालो नेपाल पार्टीले सत्य सार्वजनिक गरे मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग खुल्ने विश्वास व्यक्त गरेको छ। पार्टीका अनुसार जाँचबुझ आयोगको प्रतिवेदन सरकारको फाइलमा सीमित रहने कागजपत्र मात्र नभई सार्वजनिक सरोकार, संस्थागत सुधार, जिम्मेवारी निर्धारण तथा न्यायिक र प्रशासनिक प्रक्रियाको आधार बन्नुपर्ने दस्तावेज हो।

पार्टीले प्रतिवेदन सार्वजनिक गर्नु कसैलाई पूर्वाग्रही ढंगले दोषी ठहर गर्नु नभई सत्यतथ्य जनतासामु ल्याई निष्पक्ष प्रक्रिया अघि बढाउने प्रारम्भिक कदम भएको पनि जनाएको छ।

उज्यालो नेपाल पार्टीले सरकारसमक्ष आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, सार्वजनिक गर्न ढिलाइ भएको भए त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा दिन, प्रतिवेदनका निष्कर्ष तथा सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानुनसम्मत प्रक्रिया अघि बढाउन माग गरेको छ।

त्यस्तै, पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको आचरण, भीड व्यवस्थापन, आदेश प्रणाली, मानवअधिकार संरक्षण र नागरिक स्वतन्त्रताको प्रत्याभूतिसम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गर्न पनि पार्टीले सरकारसँग आग्रह गरेको छ।

पार्टीले यस विषयलाई केवल प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने प्रश्नका रूपमा नभई लोकतान्त्रिक शासन, सार्वजनिक उत्तरदायित्व, नागरिकको विश्वास र न्यायिक नैतिकतासँग जोडिएको विषयका रूपमा हेरेको जनाएको छ। विज्ञप्तिमा सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरी दोषीउपर कडा कारबाही गर्न समेत माग गरिएको छ।

उक्त वक्तव्य पार्टीका प्रवक्ता डा. राजु थापाले जारी गरेका हुन्।

प्रकाशित मिति : मंगलबार, चैत ०३, २०८२ | २०:४६:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया